
काठमाडौँ, असार ३१ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले मंगलबार ‘ग्लोबल वाच एनालिसिस’ को हवाला दिँदै प्रकाशित समाचारहरु झुठ रहेको दावि गरेका छन् । बुधबार बिहान प्रेस नोट प्रकाशित गर्दै थापाले प्रधानमन्त्रीको नाम जोडेर आएका ति समाचारहरु गैरजिम्मेवारपुर्ण र बदनियतका साथ प्रकाशित भएको उल्लेख गरेका छन् ।
उनले प्रधानमन्त्री ओलीको स्वीस बैँकमा ५.५ मिलियन अमेरिकी डलर रहेको रिपोर्ट शतप्रतिशत गलत कपोकल्पित रहेको बताएका छन् ।
‘राष्ट्रिय हितको रक्षा, सीमा अतिक्रमणविरूद्द नयाँ नक्सा प्रकाशनको साहसिक कदम र सर्वसम्मतिद्वारा संविधान संशोधनजस्तो महत्वपूर्ण निर्णयमा सिंगो राष्ट्रलाई एकताबद्द गर्दै प्रधानमन्त्रीज्यूले राष्ट्रको नेतृत्व सम्हालिरहनु भएको निकै संवेदनशील बेलामा बदनाम गराउन यस किसिमले सुनियोजित षडयन्त्र गर्ने अनेकन् तत्वहरू सक्रिय रहेको प्रष्ट नै छ ।’ उनले लेखेका छन् ‘आम नेपालीहरूलाई म यस्ता कुनै पनि दुष्प्रचारको भ्रममा नपर्न हार्दिक आह्वान गर्न चाहन्छु । र, सम्बन्धित निकायहरूले पत्रकारिताको न्यूनतम जवाफदेहिता, जिम्मेवारीबोध र सामाजिक मर्यादा एवं शिष्टाचारविपरित कार्यमा संलग्न व्यक्ति र संस्थाहरूमाथि कडा कारबाही गर्न माग समेत गर्दछु ।’
