
काठमाडौँ, असार ३१ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र देखिएको आन्तरिक द्वन्दको समाधान गर्न बसेको दुई अध्यक्षको बैठक बिना निश्कर्ष टुंगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डको वार्ता विनानिश्कर्ष टुंगिएको हो । दुई अध्यक्षबिच तीन घण्टा लामो छलफल भएतापनी सहमती जु्ट्न नसकेपछि भोली पुन बस्ने गरि छलफल टुंगिएको हो ।
दुई अध्यक्षबिच सहमती खोज्न भन्दै नेकपा स्थायी समिति वैठक साउन २ गते सम्मका लागि स्थगित गरिएको थियो । तर निरन्तर वार्ता र संवादमा जुटेको भएतापनी दुई अध्यक्षबिच सहमती निस्कन सकेको छैन । प्रचण्डसहित स्थायी समितिका अन्य सदस्यहरुले प्रधानमन्त्रीले राजिनामा दिनुपर्ने माग राखेका छन् । यता प्रधानमन्त्री ओलीले भने आफु पार्टी र सरकार दुबैको नेतृत्वबाट नहट्ने अडान कायम राखेका छन् ।
दुई अध्यक्षबिच देखिएको अन्तरद्वन्दको कारण कार्यकर्तामाझ समेत ध्रुविकरण हुन थालेको कुरा सतहमै देखिएको छ । विवादकै कारण पार्टी फुट्ने आँकलन समेत भइरहेको छ । यद्यपी अध्यक्ष प्रचण्ड भने आफु एकताको पक्षमा भएको कारण कार्यकर्ताहरुलाई पनि पक्ष र विपक्षमा ध्रुविकरण नहुनका लागि आग्रह गरिसकेका छन् ।
पार्टीभित्रका दोस्रो पुस्ताका नेताहरुले पनि अध्यक्ष दाहाल र ओलीलाई सहमतीमा आउनका लागि दबाव दिइरहेका छन् । वैठक भोली पुन बस्ने र सहमतीको खोजी गरिने बताइएको छ ।