बालुवाटारमा ओली, प्रचण्ड र माधव नेपालको त्रिपक्षीय वार्ता

दियो पोस्ट  

काठमाडौँ, साउन १ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र देखिएको आन्तरिक विवादको समाधान गर्न प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबिच त्रिपक्षिय वार्ता शुरु भएको छ । वार्ता बिहीबार करिब १२ बजे प्रधानमन्त्री निवास बालुवटारमा शुरु भएको हो ।

यसअघि पटकपटक ओली र प्रचण्डको वान टु वान वार्ता भएतापनी कुनै निश्कर्ष निस्कन नसकेपछि वरिष्ठ नेता माधव नेपाललाई समेत बोलाइएको हो । वार्तामा वरिष्ठ नेता नेपाललाई पनि सहभागी गराइएपछि अन्य नेताहरुले पार्टी नेतृत्वले सकारात्मक निकाश दिने आशा गरेका छन् ।

पार्टी नेतृत्व र सरकार नेतृत्वको विषयलाई लिएर नेकपा भित्र देखिएको चरम आन्तरिक द्वन्द समाधान गर्नका लागि दुई प्रचण्ड र ओली छलफलमा जुटेका थिए । पार्टी स्थायी समिति वैठक समेत स्थगित गरेर सहमतीको लागि प्रधानमन्त्री ओलीलाई समय दिइएको थियो । तर ओलीले आफ्नो अडान नछोडेकै कारण पटकपटकको वार्ता विनानिश्कर्ष स्थगित हुँदै आएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई केही समय चाहिने माग गरेपछि पार्टी स्थायी समिति वैठक भोलिसम्मका लागि स्थगित भएको थियो । भोली साउन २ गते बस्न लागेको पार्टी स्थायी समिति वैठक अगाडी दुई अध्यक्षबिच सहमती खोज्ने प्रयासस्वरुप बिहीबार त्रिपक्षिय छलफलमा जुटेका हुन् ।