
दियोपोस्ट संवाददाता
धादिङ्ग, साउन १ । देश कोरोना भाइरस कोभिड १९ को महामारीबाट प्रताडित छ । लगातारको लकडाउनको कारण सामान्य नागरिकहरुको जनजीवन निकै अस्तव्यस्त बनेको छ । कोरोनाको महामारी र लकडाउनकै कारण सामान्य स्वास्थ्य सेवा लिनका लागि आम सर्वसाधारण जनताले निकै सास्ती खेप्नु परेको छ । कोरोनाकै त्रासका कारण सामान्य रुघाखोकी लागेका मानिसहरु पनि तत्काल अस्पताल पुग्ने गरेका छन् । यस्तो अवस्थामा मुलुकका सरकारी अस्पतालहरुले न्युनतम शुल्कमा स्वास्थ्योपचार गर्दै आएका छन् ।
यता जिल्ला अस्पताल धादिङ्गले भने कोरोनाकै महामारीको समयमा ओपिडी टिकट र इमरजेन्सी टिकटको शुल्क बृद्धी गरेको छ । अस्पतालका अध्यक्ष महेन्द्र धमला र मेडिकल सुपरिटेण्डेन्ट (मे.सु) डा. त्रिभुवन चन्द्र झाले मनोमानी रुपमा टिकट शुल्क बढाएका हुन् ।
अस्पतालमा मनोमानी हैकम चलाउँदै आएका अध्यक्ष धमला र मेसु झाले कोरोनाले पीडित जनतामाथि थप सास्ती थोपर्ने काम गरेको पाइएको छ । यसअघि १० रुपैयाँ शुल्क लाग्ने ओपिडी टिकटमा एकैपटक १ सय ५० प्रतिशतले बृद्धी गरि रु. २५ कायम गरिएको छ । त्यसै गरि ५० रुपैयाँ लाग्ने इमरजेन्सी टिकटमा थप ५० प्रतिशत बृद्धी गरि ७५ पुर्याइएको छ ।
अस्पताल प्रशासनले एक सुचना जारि गरि टिकट शुल्क बढेको भन्दै अस्पतालको भित्तामा टाँसिएको छ । जनताकै पसिनाबाट संचालन भएको अस्पताललाई अध्यक्ष धमला र मेसु झाले नीजि अस्पताल भन्दा महंगो बनाएर चलाउन लागेपछि सेवाग्राहीहरु असन्तुष्ट बनेका छन् ।
अस्पताल व्यवस्थापन समितिका सदस्य रहेका निलकण्ठ नगरपालिका–८ का वडाध्यक्ष गुणराज थपलियाले केही दिनअघि बसेको समितिको वैठकमा टिकट शुल्क बृद्धी गर्ने बिषयबारे छलफल भएको बताएका छन् ।
छलफलमा आफुले तत्काल टिकट शुल्क बृद्धी गर्न नहुने बताएपनि अध्यक्ष धमला र मेसु झाले आफुहरुको सहमती बिना नै अस्पतालले टिकट शुल्क बढाएको बताएका छन् । कर्मचारी खर्च, खाजा खर्च लगायत विभिन्न व्यवस्थापकिय खर्चको अभाव भएको कारण टिकट शुल्क बढाउने कुरा उठेको उनले बताए ।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट (मेसु) डा. त्रिभुवनचन्द्र झाले भने आजभन्दा तीन चार महिना भन्दा अगाडी नै टिकट शुल्क बृद्धी गर्ने बिषयमा छलफल भएको भएको बताएका छन् ।
दियोपोस्टसँग कुरा गर्दै मेशु झाले टिकटको गुणस्तरीयता र अन्य सेवा सुविधा बृद्धीको लागि शुल्क बढाएको दाबी गरेका छन् । उनले प्रदेशका अन्य सरकारी अस्पतालहरुको टिकट शुल्कको तुलनामा धादिङ्ग अस्पतालको टिकट शुल्क कम रहेको र एउटै दर कायम गर्नका लागि शुल्क बढाइएको बताए ।
एकैपटकमा अत्याधिक शुल्क बृद्धी गरेको बिषयमा बुझ्नका लागि अस्पतालका अध्यक्ष महेन्द धमलालाई सम्पर्क गर्दा उनी केही हच्किएका छन् । अस्पतालमा टिकटको नयाँ शुल्क लागु भइसक्दा समेत धमलाले आफु त्यसबारेमा अनभिज्ञ रहेका बताए । ‘टिकट शुल्क बृद्धी गर्ने छलफल मात्र भएको हो’ कार्यान्वयन नै भैसकेको हो र? उनले प्रतिप्रश्न गरे ।
धमलाले टिकट शुल्क बृद्धि गर्ने आधारहरु समेत बताउन सकेनन्। धमलाले अस्पतालका चिकित्सकहरु संगको छलफलको क्रममा थप सेवा बिस्तार गर्ने र त्यसको लागि टिकट शुल्क बढाउनु पर्ने प्रस्ताव उठेको र सोही प्रस्ताव विकास समितिको वैठकमा आफुले राखेको बताए । तर टिकट शुल्क बृद्धी गर्नुपर्ने ठोस आधारहरु भने दिन सकेनन् ।