सिद्धलेक गाउँपालिकाको मनोमानीपछि कुम्पुर स्वास्थ्य चौकी बन्द : कर्मचारी नभएपछि तालाबन्दी !

दियोपोस्ट संवाददाता

दियोपोस्ट संवाददाता


धादिङ, २ साउन । जिल्लाको सिद्धलेक गाउँपालिका ६ कुम्पुरस्थित स्वास्थ्य चौकी पूर्ण रुपमा बन्द भएको छ । स्थायी दरबन्दीका एकमात्रै सिनियर अहेब मोहम्मद रकिम अन्सारीलाई सिद्धलेक गाउँपालिकाका अध्यक्ष प्रेम नाथ सिलवालले व्यक्तिगत प्रतिशोधमा अन्यत्रै सरुवा गरिदिएपछि स्वास्थ्य चौकी पूर्ण बन्द भएको हो ।


प्राथामिक उपचार र प्रसुती गराउन आएका विरामीहरु अस्पतालमा तालान्दी भएको देखेपछि उपचार बिनै घर फर्कनुपरेको छ ।


यसअघि गाउँपालिकाले अन्यत्रै सरुवा गरिदिएको भन्दै स्थानियबासीले गाउँपालिका घेराबन्दी समेत गरेका थिए ।


गाउँपालिकाले अहेब अन्सारीलाई आर्थिक अनियमितताको आरोप लगाउँदै नलाङस्थित स्वास्थ्य चौकीमा सरुवा गरेको थियो । तर, अन्सारीले आफूले आर्थिक अनियमितता गरेको भए प्रमाणसहित अख्तियारद्वारा कारबाही हुनुपर्ने माग राख्दै आएका थिए ।

गाउँपालिकाले सरुवा गरेको स्थानमा नगएको भन्दै गाउँपालिकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमै अन्सारीलाई फिर्ता पठाएको पत्र समेत सार्वजनिक भएको थियो । स्वास्थ्य मन्त्रालयले गाउँपालिकाले पठाएको पत्र अस्विकार गर्दै अन्सारीलाई पुन सिद्धलेकमै पदस्थापना गर्न पत्राचार गरेको थियो ।

स्वास्थ्य मन्त्रालयको पत्र सहित गाउँपालिका पुगेका अन्सारीलाई प्रमुख प्रशासकीय अधिकृत धनेश्वर पौडेलले पदस्थापना नगरिदिएपछि कुम्पुरका १० हजारभन्दा बढी जना स्वास्थ्यलाभबाट बञ्चित भएका छन् ।


कुम्पुर स्वास्थ्य चौकी स्रोतका अनुसार अहिले स्वास्थ्य चौकीमा कुनै पनि कर्मचारी छैनन् ।
स्वास्थ्य चौकीका इन्चार्ज अन्सारीलाई गाउँपालिकाले हाजिर हुन दिएको छैन ।

स्रोतका अनुसार गाउँपालिकाले गुणस्तर हिन औषधी पठाएको विषयमा प्रश्न गरेपछि उनलाई त्यहाँबाट सरुवा गरिएको हो । एक कर्मचारीका अनुसार अन्सारीले गाउँपालिकाबाट आउने औषधीको गुणस्तर र परिमाणमा प्रश्न उठाउने गरेका थिए ।

यसअघि रहेका कुल ५ जना कर्मचारी नै अहिले छैन् । अनमी कृष्णमाया विक कोरोना प्रकोपका कारण काजमा काठमाडौं खटिएकी छिन् । तुलसी महतोको खुट्टा भाँचिएर चितवनमा उपचाररत छन् ।


अनमी सुनिता फुयालको करार अवधि सकिएको छ । यसअघि सुनिता फुयाललाई इन्चार्ज रकिम अन्सारीले आफ्नै तलबबाट कटाएर पारिश्रमिक उपलब्ध गराउँदै आएका थिए ।


कार्यालय सहयोगी तुल बहादुर घलेको समेत करार अवधि सकिएपछि स्वास्थ्य चौकी पूर्ण रुपमा बन्द भएको छ ।

सम्बन्धित खबर

सिफारिस