एनआरएन मलेशियाका अध्यक्ष भट्टराई भन्छन्,‘मिटर ब्याजमा लगाएको होइन, हिसाब देखाउँछौँ’

दियोपोस्ट संवाददाता

काठमाडौं, ४ साउन । गैरआवाशीय नेपाली संघ मलेशियाका अध्यक्ष हरि भट्टराईले श्रमिक कल्याणकारी कोषको रकम हिनामिना गरेको आरोपको खण्डन गरेका छन् ।


शनिबार दियोपोष्टमा प्रकाशित समाचारमा भट्टराई र कोषाध्यक्ष कृष्ण प्रसाद नेपालको मिलेमतोमा श्रमिक कल्याणकारी कोषमा जम्मा हुनुपर्ने रकम हालसम्म नभएको र उक्त मिटर ब्याजमा समेत लगाएको विषयमा समाचार प्रकाशीत भएको थियो ।


उक्त समाचारको खण्डन गर्दै भट्टराईले आफूले एक पैसा पनि हिनामिना नगरेको बताएका छन् ।


‘मैले श्रमिकको हक हितका लागि आवाज उठाइराखेको छु । जापानबाट आएको पैसा हामीले कोषमा पारदर्शी हिसाबले राखेका छौँ । कस–कसलाई राहत दियौँ सबै हिसाब किताब र फोटो हामीसँग छ,’ उनले भने,‘म सदस्यबाट अध्यक्षमा आएपछि केही मानिसहरु बेखुसी भएको हुनसक्छ । सबैलाई चित्त नबुझ्न पनि सक्छ । म दुई चार हजार रुपैयाँका लागि भाग्ने मान्छे पनि होइन ।’

भट्टराईले आफूले श्रमिक कल्याणकारी कोषमा ५० हजार मलेशियन रिंगेट जम्मा गराएको समेत बताए । ‘मैले दिएको चेक पनि नक्कली थिएन । एनआरएनमा खाता नभएका कारण मैले दिएको चेक जम्मा नभएको हो । कोषाध्यक्षले पनि पारदर्शी रुपमा काम गर्नु भएको छ,’ भट्टराईले भने,‘हामीले दूतावासमाको आग्रहमा चार जना दुख पाएका व्यक्तिलाई हवाई टिकट दियौँ । हामी हिसाब किताब सबै आधिकारीक रुपमा दिन तयार छौँ । लकडाउनका अवधिमा जति पनि समस्यामा परेका मजदुरहरुलाई हामीले उद्दार गरेका छौँ ।’


बाँढेको राहतको विषयमा एनआरएन केन्द्रले समेत स्पष्टिकरण माग्ने र आफूहरुले बुझाउने उनको स्पष्टोक्ति छ ।


‘त्यस्तो पैसा अध्यक्ष र कोषाध्यक्षले मिटर ब्याजमा लगाएको भन्ने कुरा निराधार हो । म दुई चार हजार लगेर मिटर ब्याजमा लगाउने मान्छे होइन,’ उनले भने,‘म आफै कम्पनि चलाएर बसेको मान्छे हुँ । म त्यस्तो हैसियतको मान्छे नै होइन । तर मेरो पनि गल्ती हुन्छ । तर यस मामिलामा मैले मिटरब्याजमा लगाएको कुरा निराधार हो । ’


एनआरएन एशिया ब्युरो प्रमुख गोविन्द श्रेष्ठले श्रमिक कल्याणकारी कोषमा रकम नदिएको भट्टराईको दाबी छ । ‘कोषाध्यक्षले कति खर्च गर्यो त्यो सबै विवरण म दिन तयार छु । मार्चमा पठाएको त्यही पैसाबाट राहत बाँढिएको छ । ५ हजार डलर केन्द्रले पठाएको छ । हामीले यो बीचमा धेरै राहत बाँढेका छौँ । त्यति पैसा मैले ब्याजमा लगाएको हुँला र ?,’ प्रश्न गर्दै भट्टराईले भने,‘सबै पारदर्शी रुपमा हिसाब राखिएको छ । यो महिनाको अन्तिममा बैठक बस्थ्यो । कोभिड १९ का कारण जुम मिटिङ मात्रै भयो । यो महिनाको अन्तिममा सबै मिटिङ बसेर बिलहरु र सबै ठाउँमा राहत बाँढेको विवरण राख्छौँ ।’

सम्बन्धित खबर

सिफारिस