खुमलटारमा प्रचण्ड पक्षका स्थायी समिति सदस्यको भेला, बादल र लेखराज भट्ट अनुपस्थित

दियो पोस्ट  

काठमाडौँ, साउन ५ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुनिकटका स्थायी समिति सदस्यहरुसंग छलफल गरेका छन् । सोमबार खुमलटार बोलाएर अध्यक्ष दाहालले अन्य सदस्यहरुसँग छलफल गरेका हुन् ।

छलफलमा पुर्वमाओवादी इतरका नेताहरु उपस्थित भएका थिए । अध्यक्ष दाहालले नै पुर्वमाओवादी बाट आएका नेताहरु यत्रतत्र लागेको भन्दै एक हुनका लागि छलफल राखेको एक नेताले बताए । छलफलमा गृहमन्त्री राम बहादुर थापा बादल र उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री लेखराज भट्ट भने अनुपस्थित थिए ।

पूर्वमाओवादी पक्षीय केही स्थायी समिति सदस्यहरू प्रचण्ड र माधव नेपालको गठबन्धनमा रहेका छन् भने कोही ओली र प्रचण्ड मिल्नुपर्छ भन्नेमा छन्। उद्योगमन्त्री एवं स्थायी समिति सदस्य लेखराज भट्ट भने पूर्ण रूपमा ओलीको पक्षमा गइसकेका छन्।

करिब एक महिना अघिदेखि शुरु भएको स्थायी समिति वैठक पनि पार्टी भित्र देखिएको विवादको कारण स्थगित हुँदै गइरहेको छ । यसअघि स्थायी समितिको वैठक बस्नु अगाडी नै स्थगित गरि मंगलबार सम्मका लागि सारिएको थियो ।

पार्टीभित्र प्रधानमन्त्री ओली र अध्यक्ष दाहाल बिच सहमती जुट्न नसकेकै कारण अन्यौल शुरु भएको हो । लगातारको वान टु वान वार्ता र छलफलमा जुट्दा पनि कुनैपनि निश्कर्ष ननिस्कनुले नेकपा शीर्ष तहमा अन्यौलता थपिएको हो । सहमती जुटाउनकै लागि प्रधानमन्त्री ओली र अध्यक्ष दाहाल राष्ट्रपति भवन शीतलनिवास समेत पुगेका थिए ।

शीतलनिवास पुगेर प्रचण्डले ओलीसंग सम्झौता गरेको समेत सार्वजनिक भएको थियो । प्रधानमन्त्री ओलीले अर्ली महाधिवेशनमार्फत प्रचण्डलाई एकल अध्यक्षमा सघाउने भनेपछि प्रचण्ड सहमतीमा आएको खबर बाहिरिएपनि उनको सचिवालयले त्यस्तो कुनै सहमती नभएको बताएको थियो ।

पार्टीभित्र गर्मागर्मी चलेपछि नै प्रचण्डले पुर्व माओवादीबाट आएका नेताहरु एक ढिक्का हुनुपर्ने भन्दै छलफलमा डोकेका हुन् ।