
काठमाडौँ, साउन ५ । एकैपटक ४६ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण भेटिएपछि बाराको देवताल गाउँपालिकामा निषेधाज्ञा जारि गरिएको छ । बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले सूचना प्रकाशित गर्दै अर्को सूचना जारी नभएसम्मका लागि देवताल गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको जानकारी गराएका छन् ।
७४ वटा नमुना परीक्षण गर्दा ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए । संक्रमित मध्ये ११ जना महिला र ३५ जना पुरुष छन् ।
प्रमुख जिल्ला अधिकारी पण्डितका अनुसार देवताल गाउँपालिकाका ३४ जना, सुवर्ण गाउँपालिकाका ३, कलैया उपमहानगरपालिकाका ३ जना र धनकौलका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा गाउँपालिका अध्यक्षसहित ९ जना जनप्रतिनिधि, १६ जना स्वास्थ्यकर्मी, ६ जना गाउँपालिकाका कर्मचारी, ६ जना स्वास्थ्यकर्मीको परिवारका सदस्य र बाँकी स्थानीय छन् ।
प्रजिअले जारी गरेको सूचना अनुसार देवताल गाउँपालिका कार्यालय र वडा कार्यालयहरुबाट प्रदान गरिँदै आएको सेवा बन्द गरिएको छ । अत्यावश्यक खाद्यान्न, औषधी, ग्याँस, दुध, तेल बाहेक सम्पूर्ण पसल, तथा हाटबजार बन्द गरिने, अत्यावश्यक काममा बाहेक नागरिकलाई घर बाहिर निस्कन बन्देज गरिने, अत्यावश्यक सवारी बाहेक मोटरसाइकल समेत सञ्चालनमा प्रतिबन्ध लगाउने, आसपासका पालिकाबाट आवागमन निषेध गरिएको, धार्मिक सास्कृतिक, सामाजिक कार्य गर्नमा रोक लगाईएको छ ।