
काठमाडौँ, साउन ५ । पार्टीभित्र देखिएको विवाद समाधानका लागि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले सोमबार पुर्वमाओवादी केन्दका आफु पक्षका स्थायी समिति सदस्यहरुसँग छलफल गरेका छन् । छलफलले पार्टीभित्र देखिएको विवाद समाधान गर्नका लागि प्रधानमन्त्री ओली नै अग्रसर हुनुपर्ने निश्कर्ष निकालेको छ ।
छलफलको शुरुमा अध्यक्ष प्रचण्डले एकतामा गम्भिर संकट देखिएको कारण राय सल्लाह लिनका लागि बोलाएको बताए । उनले प्रधानमन्त्री अोलीले केही समय विवाद पन्छाउनको लागि आफुलाई अर्ली महाधिवेशनको आश्वासन दिएका बताए । ‘अर्ली महाधिवेशन प्रधानमन्त्रीको अर्को तुरुप हो’ प्रचण्डको भनाई उदृत गर्दै एक नेताले भने, ‘यसअघि पनि विभिन्न विषय निकालेर विवादबाट पन्छिँदै आउनु भएकै हो ।’
छलफलमा प्रचण्डले पार्टी एकता कायम राख्नकै लागि आफुले निकै त्याग गरेको बताएका छन् । एकतालाई बचाउनका लागि शुरुवातमा गरिएका सहमतीलाई समेत बेवास्ता गरेर पाँचै बर्ष प्रधानमन्त्री पद ओलीलाई चलाउन दिने सहमती गरेको भएतापनी अहिले प्रधानमन्त्रीले पार्टीभित्र नै प्रतिपक्षको जस्तो ब्यवहार गर्न थालेको प्रचण्डको भनाई रहेको छ ।
प्रचण्डले बोलाएको परामर्शमा नेताहरुले ओलीसँग फाइट टु फिनिसु भन्दा पनि सहमतिमै निकास निकाल्नु पर्नेमा जोड दिएका छन् । उनीहरुले अहिलेको संकट समाधानमा प्रधानमन्त्रीसमेत रहेका ओलीले नै भूमिका खेल्नुपर्नेमा जोड दिएका छन् । आफ्नो सुझाव राख्नेहरुले अहिले एक पदबाट ओलीले राजीनामा नदिएमा भने स्थायी कमिटी बैठकलाई नियमित एजेण्डामा केन्द्रित गरेर टुंगोमा पुराउनु पर्नेमा जोड दिएका छन् ।
एक नेताले ओलीले अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद छोड्नुपर्ने निष्कर्ष निकालिएको जानकारी दिए । उनले भने, ‘ओलीले नै अहिलेको विवादको निकास खोज्नुपर्छ । आफ्नै पार्टीको शक्तिशाली अध्यक्ष बन्ने तर बैठकदेखि भाग्ने । एक दुईजनाको मात्र कुरा सुन्ने यो त भएन । पार्टीभित्रै पनि प्रतिपक्ष जस्तो बन्ने र घुर्की लगाउने ओलीको शैली ठिक छैन भन्ने निष्कर्ष निकालियो । उहाँले एक पद छाड्नु पर्छ ।
स्थायी समिति सदस्य लिलामणि पोखरेलले पार्टी फुट्नबाट कसरी बचाउने भन्ने विषयमा आफूहरुले अध्यक्ष प्रचण्डलाई सुझाव दिएको जानकारी दिए । प्रचण्डले यसअघि माधव कुमार नेपाल निकट केही नेताहरुसँग पनि परामर्श गरिसकेका छन् । नेकपा स्थायी कमिटी बैठक भोलि बस्ने तयारी छ ।