
काठमाडौँ, साउन ५ । सोमबारको अबिरल बर्षाको कारण भक्तपुरस्थित हनुमन्ते खोलामा बाढी आएको छ । खोलामा आएको बाढीका कारण भक्तपुर क्षेत्र डुबानमा परेको छ ।
बाढीका कारण हुनमन्ते खोला आसपासको करिब एक किलोमिटर क्षेत्र डुबानमा परेको छ । बाढीले वडा नम्बर १, ३ र ४ क्षेत्रमा बढी प्रभाव पारेको स्थानीयले बताएका छन् । घरमा बाढी पस्दा जमिनको सतह भन्दा करिब चारफिट माथि पानी आइसकेको कारण स्थानीय विस्थापित भएका छन् ।
त्यस्तै बाढीकै कारण राममन्दिर बाराहीस्थानदेखि डाक्टर युवा मोरा हस्पिटल सल्लाघारी क्षेत्रमा रहेको करिब नौ सय रोपनी धानबाली डुबानमा परेको वडा नम्बर ३ का वडाध्यक्ष रामकृष्ण गोराले बताए ।
पानी पर्ने क्रम जारि रहेकोले स्थानीयहरुलाई सतर्क रहन आग्रह गरिएको छ ।