
चितवन, साउन ५ । अविरल बर्षासंगै नारायणी नदिमा पानीको बहाव बढेको छ । सोमबार बिहान देखि लगातारको बर्षाले नारायणी नदिको बहाव खतराको तहभन्दा माथि पुगेको हो ।
नारायणी नदीमा पानीको सतह बढेलगत्तै भरतपुर नगरपालिका–२६ को तीन गाउँमा बाढी पसेको छ । वडाध्यक्ष ज्ञानप्रसाद खनालका अनुसार भरतपुर–२६ को भगडी, सिसुवार र सिसै भन्ने गाउँमा बाढी पसेको हो ।
जिल्ला प्रशासन कार्यलय चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार देवघाटमा पानीको खतरा लेबल ८ मिटर रहेकोमा पानीको बहाव ९ मिटरभन्दा माथि पुगिसकेको छ । त्यस्तै पुल्चोकमा पनि पानीको सतह १२ मिटरभन्दा माथि पुगिसकेको बताइएको छ ।
अहिले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरणको तयारी भइरहेको बताइएको छ ।