
काठमाडौँ, साउन ६ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति वैठक केही समय बसेर स्थगित भएको छ । मंगलबार प्रधानमन्त्री निवासमा बसेको बैठकले अविरल बर्षाका कारण देशभर आएको बाढी पहिरोमा प्रभावित बनेकाहरुको उद्धारा र राहतमा जुट्ने निर्णय गर्दै स्थगित भएको हो ।
मंगलबार दिउँसो १ बजे बालुवाटारमा शुरु भएको बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले बाढी पहिरोबाट प्रभावितहरुको उद्धार र राहतमा सम्पूर्ण पार्टी एकताबद्ध भएर लागिपर्ने निर्णय भएको बताए ।
उनका अनुसार अर्को बैठक साउन १३ गते बस्नेछ । बाढी र पहिरोका कारण हाल देशभरको जनजीवन प्रभावित भएको छ भने कतिपय स्थानमा राजमार्ग र पुल समेत भत्किएको छ ।
प्रधानमन्त्री निवासमै बैठक बसेको भएपनि आजको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली सहभागी भएनन् । उनी सहभागी नहुनुको कारण खुल्न सकेको छैन ।