
काठमाडौँ, साउन १० । समुदायस्तरमा कोरोनाभाइरसको संक्रमण फैलिएपछि जिल्ला प्रशासन कार्यलय पर्साले बीरगंज महानगरपालिका क्षेत्रभर आजबाट अनिश्चितकालिन निषेधाज्ञा जारि गरेको छ । पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीका अनुसार शनिबार बिहान ५ बजेदेखि अर्को सुचना जारि नहुँदासम्म बीरगंज महानगरपालिका भित्र निषेधाज्ञा जारी गरिएको हो ।
शुक्रबार महानगरपालिका क्षेत्रका राजनीतिक दलका प्रतिनिधि र अन्य व्यक्तिहरुसँग छलफल गरि निषेधाज्ञा जारि गरिएको जिल्ला प्रशासन कार्यलय पर्साले जनाएको छ । निषेधाज्ञा जारी भएसँगै वीरगञ्ज महानगरपालिका क्षेत्रमा अत्यावश्यक स्वास्थ्य उपचारबाहेक अन्य काममा घर बाहिर निस्कन प्रतिबन्ध लगाइएको छ ।
विशेषगरि भारतबाट आउने मानिसहरुलाई पुर्ण प्रतिवन्ध लगाइएको छ । नेपालकै अन्य जिल्लाबाट आउन समेत प्रतिवन्ध लगाइएको छ । निषेधाज्ञा रहँदासम्म सम्पुर्ण पसल र उद्योग व्यवसाय समेत बन्द गरिएको छ । सुरक्षा निकायहरुलाई चुस्त द्रुस्त रहन निर्देशन दिइएको र गस्ती बढाउने, लुकिछिपी प्रवेश गर्नेलाई नियन्त्रणमा लिएर क्वारेन्टिनमा राखिने गरि निर्णय भएको प्रमुख जिल्ला अधिकारी कार्कीले बताए ।
वीरगञ्ज क्षेत्रमा कोरोना संक्रमितको संख्या बढ्दै गएर समुदायस्तरमा फैलिएको छ । समुदायस्तरमा संक्रमण फैलिएको चर्चा सुरु भएलगत्तै स्थानीय प्रशासनलाई निषेधाज्ञा जारी गर्न दबाव बढेको थियो ।
मास टेस्टिङका क्रममा फेला परेका लक्षण नभएका संक्रमितलाई होम आइसोलेसनमा राख्ने, लक्षण देखिएकोलाई मात्रै अस्थायी कोभिड अस्पतालमा लैजाने र आईसीयू तथा भेन्टिलेटरको थप व्यवस्था गर्ने निर्णय पनि बैठकले गरेको छ ।