गल्छी गाउँपालिका अध्यक्ष भन्छन्,‘एक पैसा खाएको प्रमाणित भए फाँसीमा चढ्न तयार छु’

दियोपोस्ट संवाददाता

दियोपोस्ट संवाददाता


धादिङ, १२ साउन । गल्छी गाउँपालिका अध्यक्ष कृष्णहरी श्रेष्ठले दियोपोस्ट डटकममा प्रकाशित समाचार प्रति आफ्नो ध्यानाकर्षण भएको बताएका छन् ।


शनिबार दियोपोस्टमा प्रकाशित ‘गल्छी गाउँपालिकामा चरम भ्रष्टाचार : कामचोर ठेकेदारलाई सेटिङमा करोडौं भुक्तानी’ शिर्षकको समाचारमा आपत्ति जनाउँदै श्रेष्ठले आफूले ‘एक पैसा अनियमितता गरेको प्रमाणित भए फाँसीमा झुण्डिन तयार रहेको समेत बताए ।


यद्धपी नेपाल लगायतका देशमा हालसम्म भ्रष्टाचार र अनियमितता गर्नेलाई फाँसीको कानुन भने छैन । अधिकांश भ्रष्टाचारमा समलग्न व्यक्तिहरु फाँसीमा चढ्न तयार रहेको ‘कानुनमै नभएको कुरा’ कसम खाएर आफूलाई चोख्याउने प्रयास गर्दै आएका छन् ।

सडक ठेक्का पाउने विष्णु भन्ने व्यक्ति र सिताराम भन्ने व्यक्तिसँग आफूले दिनदिनै झगडा गरेको समेत श्रेष्ठले बताए । ‘म रातदिन विष्णे सिताराम भन्नेसँग झगडा गरेर बसेको छु । काम विगारेको विषयमा प्रश्न गरिरहेको छु । भुक्तानी गाउँपालिका अध्यक्षको हस्ताक्षरमा हुन्छ ?,’ प्रश्न गर्दै उनी भन्छन्,‘म अनुगमन समितिको अध्यक्ष पनि होइन । म कस्तो हो भनेर तपाईंहरु जस्तो पत्रकारले बुझेर लेखिदिन पर्यो । कहाँ कहाँ मिलेर खान्छ खोजिदिनुस् । म मेरो गाउँपालिकाको विषयमा पञ्छिने पक्षमा छैन ।’


श्रेष्ठका अनुसार सुत्केरीढुंगा कार्कीडाँडा सडक स्तरोन्नती सम्बन्धी कुल १ करोड ७ लाखको ठेक्कामा अनुगमनमा प्रमुख प्रशासकीय अधिकृत मोहन श्रेष्ठ, उपाध्यक्ष राधा तिमल्सीना, सम्झौता गर्ने पशुपति आचार्य र इन्जिनियर प्रभात बराल थिए । ‘मैले हरेक तहका कर्मचारीलाई कराइ रहेको छु । कसैले गल्ती गर्यो भने अध्यक्षको नाम ल्याउन मिल्छ ? हामी गल्तीगर्ने देखि फायर छौँ । म फायर भएको छु,’ उनले धम्की दिँदै भने,‘पत्रकारले खोज्ने काम खोज । यदि मैले एक पैसा भ्रष्ट्राचार गरेको प्रमाणीत भए फाँसीमा झुण्डीन तयार छु । २० औँ वर्ष जेल जान तयार छु । बद्मासी गर्नेलाई सँगै राखेर सोधेका छाँै ।’


अध्यक्ष श्रेष्ठले गल्छी गाउँपालिका भित्र भित्र सियो जस्तै बनेर अनियमितता बारे समाचार लेखिदिन समेत आग्रह गरे ।


‘एक बोरा सिमेन्टमा ८ बोरा बालुवा हाल्यो भनिएको छ । यो विषयमा ठेकेदारसँग झगडा गर्ने मान्छे मै हुँ । इन्जिनियरलाई राखेर बदमास गरिस् भने तेरा जागिर जान्छ भन्ने मान्छे मै हुँ । उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतलाई बद्मास गरिस् भने.. भन्ने मान्छे मै हुँ,’ श्रेष्ठले दियोपोस्टसँग भने,‘मेरो चेक चल्दैन । म ५४ सालको पनि अध्यक्ष हुँ । यदि त्यतिबेला जस्तो भएको भए के हुन्थ्यो होला ।’

सम्बन्धित खबर

सिफारिस