काठमाडौँ, साउन १२ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक विवाद अझै समाधान हुन सकेको छैन । पार्टीका दुई अध्यक्ष प्रचण्ड र ओली बिच सहमती हुन नसक्दा असार १० गते देखि शुरु भएको स्थायी समिति वैठक पटकपटक स्थगित हुँदै आएको छ ।
ओली–प्रचण्डबिचको विवाद अब भने सतहमै देखिन थालेको छ । केही दिनअघि सार्वजनिक कार्यक्रमबाट नै प्रचण्डले केपी ओलीमाथि विभिन्न आरोप नै लगाएका थिए । उनले ओलीकै सक्रियतामा निर्वाचन आयोगमा नेकपा एमाले नामको दल दर्ता भएको अभिव्यक्ति दिएका थिए ।
प्रचण्डले सार्वजनिक कार्यक्रममार्फत ओलीबिरुद्ध अभिव्यक्ति दिएपछि खुमलटार र बालुवाटार बिचको दुरी टाढा हुँदै गएको छ । यसअघि सहमतीका लागि पटकपटक बालुवाटार पुगिरहने प्रचण्ड केहि दिनदेखि भने जान छाडेका छन् । जति नै प्रयास गर्दा पनि सहमती नभएपछि प्रचण्ड बालुवाटार नै जान छाडेका हुन् ।
यसअघिको स्थायी समिति वैठकले भोली (साउन १३) गते बस्ने गरि स्थगित भएको थियो । भोली बस्ने स्थायी समिती वैठक पनि अनिश्चित जस्तै बनेपछि प्रचण्डले आफुनिकटका केन्द्रिय समिति सदस्यहरुलाई खुमलटार बोलाएर छलफल गरेका छन् । यता प्रधानमन्त्री ओलीले पनि आफुनिकटका सदस्यहरुलाई बालुवाटार बोलाएर छलफल गरेका छन् ।
खुमलटारमा अध्यक्ष प्रचण्ड, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल र राम बहादुर थापा बादल सहितको छलफलले केन्द्रिय कमिटी वैठक अब स्थगित नगर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा अर्का अध्यक्ष ओली सहमतीमा नआए बहुमतको आधारमा निर्णय गर्ने निश्कर्ष निकालेको एक स्थायी समिति सदस्यले बताए ।
यता ओलीले पनि स्थायी समिति वैठकमा के भन्ने र कस्तो ढंगले जाने भनेर आफु निकटका सदस्यहरुसँग छलफल गरिसकेका छन् । वैठक भोली बिहान ११ बजे तोकिएको छ । नेकपाले स्थायी समिति वैठकलाई छोट्याएर केन्द्रिय कमिटि बैठक बोलाउने तयारी समेत गरेको छ ।