काठमाडौँ, साउन १२ । जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रहरी प्रमुखलाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक स्वास्थ्य निर्देशनालयका अनुसार सोमबार स्याङजाका प्रहरी प्रमुखसहित १८ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
गत शुक्रबार जिल्ला प्रहरी कार्यालयका दुईजना हवल्दार र एकजना सिपाहीमा कोरोना संक्रमण पुष्टि भएसँगै ९८ जना प्रहरीको स्वाब संकलन गरेर परीक्षणको लागि पठाइएको थियो ।
सोही क्रममा १८ जनामा संक्रमण पुष्टि भएको हो । बाँकीको रिपोर्ट आएको छैन । १८ जनामा कोरोना पोजेटिभ पाइएपछि जिल्ला प्रहरी कार्यलय स्याङजा सिल गरिएको छ भने प्रहरीहरुलाई क्वारेन्टिनमा राखिएको छ ।
योसँगै जिल्ला प्रहरी कार्यालयका कोरोना संक्रमित प्रहरी कर्मचारीको संख्या २१ पुगेको छ ।
यसअघि आइतबार मात्रै प्रदेश १ मा १९ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यस्तै आइतबार नै प्रहरी प्रधान कार्यालयमा कार्यरत चार जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।