बरामद भएको झोलामा साढे १४ किलो चाँदी, आधा किलोमात्रै सुन

दियो पोस्ट  

काठमाडौँ, साउन १३ । मंगलबार राजधानीको कमलादीबाट बरामद गरिएका १५ किलो पहेँलो धातुमा आधा किलो मात्रै सुन रहेको पाइएको छ । विशेष सुचनाको आधारमा महानगरिय प्रहरी परिसरले बरामद गरेको झोलामा १५ किलो पहेँलो धातु र २ वटा पेस्तोल भेटिएको थियो ।

प्रहरीले मंगलबार बिहान बा ६ च ५५११ नम्बरको स्कोर्पियो पिछा गरेपछि सुन कारोबारीहरु झोला फ्याँकेर फरार भएका थिए । प्रहरीले तत्काल सुन भेटिएको कुरा संचारमाध्यमहरुमा सुचना दिएको थियो ।

परिक्षणको क्रममा भने आधा किलो मात्र सुन भेटिएको छ । बाँकी साढे १४ किलो चाँदी रहेको प्रहरीले जनाएको छ । तस्करहरुले चाँदीमा लागेको ट्याग छोप्नको लागि सुनको जलप लगाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । कारोवारीहरुले सुनको लेपन लगाएको चाँदीलाई सुन भनेर बेच्ने गरेको र सोहीको लागि पनि चाँदीमा सुनको जलप लगाएको हुनसक्ने अनुमान गरेको छ ।

प्रहरीका अनुसार बरामद भएको सुनको हालको बजार मुल्य ४२ लाख ९ हजार ५ सय रहेको छ भने चाँदीको बजार मुल्य १५ लाख ५६ हजार ४ सय रहेको छ । प्रहरीले फरार भएका व्यक्ति र सवारी साधनको खोजी गरिरहेको छ ।