नेकपामा ट्वीस्टः वामदेव गौतमको निवासमै पुगे प्रधानमन्त्री ओली !

दियोपोस्ट संवाददाता

काठमाडौँ, साउन १३ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक विवाद चर्किँदैँ जाँदा अध्यक्षद्वय प्रचण्ड र केपी शर्मा ओलीले नयाँ नयाँ राजनीतिक अस्त्र प्रयोग गर्न थालेका छन् । पछिल्लो समय सत्तारुढ दलभित्रको राजनीति निकै पेचिलो देखिँदै गएको छ ।

मंगलबार दिउँसो नेकपाका उपाध्यक्ष वामदेव गौतमले ६ बुँदे प्रस्ताव सार्वजनिक गर्दै पार्टी एकतालाई जीवित राख्नका लागि आफ्नो प्रस्तावलाई सबैले मान्नुपर्ने बताए । गौतमले सार्वजनिक गरेका प्रस्ताव प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीको भलाईमा भएको देखियो ।

आफ्नो पक्षमा प्रस्ताव सार्वजनिक गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार साँझ गौतमलाई भेट्न उनकै निवास भैँसेपाटी नै पुगेका छन् । यसअघिसम्म गौतम प्रचण्डको पक्षमा रहेको बुझिएपनि मंगलबारको घटनापश्चात भने गौतम पुनः ओली पक्षमा लागेको नेकपाका नेताहरुले बुझ्न थालेका छन् ।

भैँसेपाटी पुगेको ओलीले गौतमसँग पार्टीको पछिल्लो अवस्थाको समाधानका लागि कुनै न कुनै नीतिबारे छलफल अवश्य गरेकै हुन्छन् । प्रधानमन्त्रीसंगका एकल भेटवार्तापश्चात गौतमले कस्तो अभिव्यक्ति दिनेछन् र उनले चाल्ने आगामी कदमले नै उनि कसको समर्थनमा छन् भन्ने कुरा स्पष्ट पार्छ ।

मंगलबार गौतमले जारि गरेको प्रस्तावमा ओली एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको यस कार्यकालको बाँकी अवधिभर प्रधानमन्त्रीको जिम्मेवारीमा रहने प्रस्ताव गरेका छन् ।

यस्तै प्रचण्ड एकता महाधिवेशनसम्म पूर्ण कार्यकारी अधिकारसहितको अध्यक्षको जिम्मेवारीमा रहने, पार्टीको एकता महाधिवेशन सहमतिको आधारमा गर्ने, प्रधानमन्त्रीको दैनन्दिनका कामहरुमा हस्तक्षेप नगर्ने गौतमको प्रस्ताव छ । तर, सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्त्वका विषयहरुमा निर्णय गर्नुपूर्व पार्टीको सचिवालयसँग परामर्श गर्नुपर्ने समेत उल्लेख छ ।

यसैगरी पार्टी केन्द्रीय सचिवालयको सुझाव र परामर्शको आधारमा मन्त्रिपरिषद् पुनर्गठन तथा राजनीतिक तथा संवैधानिक नियुक्ति गर्नुका साथै संसदमा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुपूर्व सचिवालयमा परामर्श लिने पनि गौतमको प्रस्ताव छ । यसबाहेक पार्टी बैठकहरु पार्टी कार्यालयमा मात्रै गर्ने पनि उनको प्रस्ताव छ ।

यद्यपि गौतमको प्रस्तावमाथि अहिलेसम्म कुनै छलफल सुरु भइनसकेको अवस्थामा ओली उनलाई भेट्न एकाएक पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । बालुवाटार निकट स्रोतका अनुसार गौतमलाई विश्वासमा ल्याउने प्रयासमा ओली छन् ।

आजै बोलाइएको स्थायी समिति बैठक ओलीले स्थगित गरेका थिए भने त्यसलाई अस्वीकार गर्दै प्रचण्ड समूहले बैठकलाई निरन्तरता दिएको थियो ।

प्रचण्डको अध्यक्षतामा सम्पन्न भएको वैठकमा गौतम केहिबेर मात्रै बसे । उनि दुई अध्यक्षको स्वार्थको बिचमा पर्न नचाहेको भन्दै बाहिरिएका थिए । वैठकको अन्त्यमा प्रचण्डले पार्टी विभाजन हुनसक्ने भन्दै उत्तेजित नहुन आग्रह गरेका थिए ।

सम्बन्धित खबर

सिफारिस