अविरल बर्षाको बितण्डाः कैलालीका सय घर डुब्यो, दाङमा २ को मृत्यु

दियोपोस्ट संवाददाता

काठमाडौँ, साउन १४ । लगातारको बर्षापछि आएको बाढीले कैलालीको भजनी नगरपालिका र जोशीपुर गाउँपालिकाका करिब एक सय घरपरिवार विस्थापित भएका छन् ।

मंगलबार रातिको बाढी वस्तीमा पसेपछि दुई स्थानीय तहका सय भन्दा बढी घर डुबानमा परेका हुन् । भजनी नगरपालिकाको वडा नम्बर २ को मोहनपुर, वडा नं. ३ को ढुसी गाउँ, वडा नम्बर ५ को फुलियापुर गाउँमा बाढी पसेको छ ।

मोहनपुर, ढुसी र काँडा गाउँमा ५०–६० घरमा पानी पसेको जानकारी आफूलाई आएको डिएसपी विष्टले बताए ।

यसैगरी कैलालीकै जोशीपुर गाउँपालिकाको वडा नम्बर १, ३, ४, ५, ६ र ७ का वस्ती पनि डुबानमा परेका छन् ।

डुबानमा परेका घर परिवारलाई सुरक्षित स्थानमा सार्ने क्रम जारी रहेको जिल्ला प्रहरी कार्यालले जनाएको छ ।

दाङमा आमाछोरी पुरिए

बर्षापछि आएको पहिरोले दाङमा आमाछोरीको मृत्यु भएको छ । जिल्लाको बंगलाचुली गाउँपालिका–५ साकुनीमा घर माथिबाट आएको पहिरोले पुरिँदा बुधबार बिहान आमाछोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

पहिरोमा परी २४ वर्षिया बाटुली नेपाली र उनकी २ वर्षिया छोरी आयुस्मा नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रहरीका अनुसार बुधबार बिहान ३ बजेतिर घरमाथिको कान्ला भत्केर घर पुरिँदा उनीहरूको मृत्युु भएको हो ।

अझै तिन दिन भारी बर्षा हुने

मौसम पुर्वानुमान महाशाखाले नेपालमा न्युन चापिय वायुको प्रभाव कायम नै रहेकोले अझै तीन दिनसम्म भारी बर्षाको सम्भावना रहेको बताएको छ । महाशाखाले बर्षापछि बाढी पहिरो जस्ता प्राकृतिक विपत्ती आउन सक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ ।

सम्बन्धित खबर

सिफारिस