
काठमाडौँ, साउन १५ । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाको प्रमाण नष्ट गरेको आरोप लागेका प्रहरी अधिकारीहरुले अदालतबाट सफाई पाएका छन् । जिल्ला अदालत कञ्चनपुरले तात्कालिन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टसहित ८ जनालाई सफाई दिएको हो ।
जिल्ला न्यायाधीश गोपालप्रसाद वास्तोलाको इजलासले ८ जना प्रहरी विरुद्ध दर्ता भएको सार्वजनिक न्यायविरुद्धको कसूर र यातनासम्बन्धी कसूरको फैसलामा प्रहरी अधिकारीहरुलाई सफाई दिएका हुन् ।
सफाइ पाउनेमा दिल्लीराज विष्टसहित निलम्बित डीएसपी अंगुर जिसी, ज्ञानबहादुर सेठी, इन्सपेक्टर एकेन्द्र खड्का, जगदीश भट्ट, सई हरिसिंह धामी, रामसिंह धामी र प्रहरी जवान चाँदनी हमाल रहेका छन् ।
उनीहरुविरुद्ध निर्मला पन्तको बलात्कारपछि हत्या भएको प्रमाण नष्ट गरेको र हिरासतमा रहेकालाई यातना दिएको भनी मुद्धा परेको थियो ।
निर्मलाकी आमा दुर्गादेवी र दीलिपसिंह विष्टका दाजु खडकसिंह विष्टले प्रमाण नष्ट गरेको र दिलिपलाई यातना दिएको भन्दै उनीहरुविरुद्ध जाहेरी दिएका थिए। उक्त मुद्दा ०७५ फागुन २२ मा दर्ता भएको थियो।
जिल्ला अदालतको पछिल्लो फैसलापछि निलम्बनमा परेका प्रहरी अधिकारी अब सेवामा फर्कने बाटो खुला भएको छ। तर, विष्ट र भट्टलाई भने बर्खास्तीमा परेकाले सेवामा फर्किन नपाउने बताइएको छ ।