बहालमा बस्नेमाथि बलात्कार गर्ने घरबेटी श्रेष्ठलाई जेल चलान !

दियो पोस्ट  

काठमाडौं । बहालमा बस्नेमाथि बलात्कारको आरोप लागेका घरबेटी न्हुछे कृष्ण श्रेष्ठलाई अदालतले कसुरदार ठहर गरेमा ७ देखि १० वर्षसम्म कैदसजाय हुने भएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय भक्तपुरले “मुलुकी अपराध संहिताको दफा २१९” अनुसार जबरजस्ती करणी गरेको भन्दै सजाय माग गरेको छ ।
“जबरजस्ती करणी गर्न नहुने दफा २१९”को उपदफा (३)को खण्ड(ङ) मा अठार वर्ष वा अठार वर्षभन्दा बढी उमेरकी महिलालाई जबरजस्ती करणी गरे सतादेखि दश वर्षसम्म कैद सजाय हुने उल्लेख गरिएको छ । साथै उक्त दफाको उपदफा (३क) को खण्ड (ग)बमोजिम कैद सजाय हुने कसुरदारलाई २ लाख रुपैयाँ जरिवाना समेत हुने छ ।

भक्तपुरको जगाती बस्ने रमा मंग्राती (नाम परिर्वतन)ले घरबेटी न्हुछे कृष्ण श्रेष्ठले आफूमाथि बलात्कार गरेको भन्दै भक्तपुर प्रहरीमा जाहेरी दिएकी थिइन् ।

उनको जाहेरीपछि प्रहरीले श्रेष्ठलाई पक्राउ पनि गरेको थियो । तर घरबेटी श्रेष्ठले आफ्नो स्वास्थ्य कमजोर भएको भन्दै प्रहरीलाई प्रलोभनमा पारेर हिरासत नै नबसी बाहिरबाटै मुद्दालाई प्रभाव पारेका थिए । सरकारी वकिल कार्यालयले जिल्ला अदालत भक्तपुरमा अभियोग पत्र दर्ता गरेको छ ।
जिल्ला सरकारी वकिल कार्यालय भक्तपुरका अनुसार अभियोग पत्र बुझेर श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाएको छ ।