काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र नेपालका लागि स्लोभाक गणतन्त्रका नवनियुक्त राजदूत रोबर्ट म्यक्सियनबीच शिष्टाचार भेट भएको छ । मन्त्रालयमा आइतबार (आज )भएको भेटमा उहाँहरूबीच द्विपक्षीय सम्बन्ध र जल तथा मौषम विज्ञानका विविध विषयमा छलफल भएको हो ।
सो अवसरमा मन्त्री भुसालले विगत २० वर्षदेखि दुई देशबीच रही आएको सुमधुर सम्बन्ध मित्रता, हार्दिकता, आपसी सहकार्य र सद्भावमा आधारित रहेको उल्लेख गर्दै युरोपेली सङ्घको सदस्य मुलुक स्लोभाकले नेपालको सामाजिक एवं आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको प्रति धन्यवाद व्यक्त गरेकी छन् ।
विकास साझेदार मुलुकहरूको सहयोगमा नेपालले सुशासन एवं सामावेशी नागरिक सहभागिताको लक्ष्यमार्फत स्थितरता, प्रगति एवं दिगो विकासका लक्ष्य प्राप्त गर्ने उद्देश्य लिएको उल्लेख गर्दै मन्त्री भुसालले आगामी दिनमा जलवायु परिवर्तन एवं मौषम पूर्वानुमानका विषयमा स्लोभाकसँग सहकार्य गरेर अगाडि बढ्न सकिने बताइन् । साथै, राजदूत रोबर्ट म्यक्सियनले नेपाल र स्लोभाक गणतन्त्र दुवै भूपरिवेष्ठित मुलुक भएको उल्लेख गर्दै दुई देशबीचको सम्बन्धलाई थप विस्तार गर्नुपर्नेमा जोड दिए ।