छुट्टाछुट्टै ठाँउबाटअवैध लागूऔषधसहित ४ जना पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौं । विभिन्न ठाँउबाट अवैध लागूऔषधसहित  ४ जना पक्राउ परेका छन् । सुनसरीको धरान उपमहानगरपालिका–८ तीनकुनेबाट अवैध लागूऔषध गाँजा ५९ किलोग्रामसहित एक जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा भारत अररिया नरपथगंजथापा तामगंज–४ बस्ने २२ वर्षीय मुन्ना कुमार मण्डल रहेका छन् । अस्थाई प्रहरी पोष्ट तीनकुनेबाट खटिएको प्रहरीले काठमाडौंबाट भारततर्फ जाँदै गरेको बीआर १० के २९३३ नम्बरको भारतीय गाडीलाई जाँच गर्ने क्रममा फल्स वटमभित्र लुकाइ राखेको उक्त गाँजासहित मंगलबार बिहान पक्राउ गरेको हो ।

यसैगरी धनकुटाको छथरजोरपाटी गाउँपालिका–६ बाट लागूऔषध स्पासपेन १ हजार ५ सय ५५ क्यापसुल र ट्रामोल १ हजार १ सय ५८क्याप सुलसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाँउ डेरा गरी बस्ने सोही गाउँपालिका–५ परेवादिन घर भएका २३ वर्षीय फुर्सुदी शेर्पा रहेका छन् । प्रहरी चौकी सिधुवाबाट खटिएको प्रहरी टोलीले उनको कोठा जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित मंगलबार बिहान पक्राउ गरेको हो ।

साथै नवलपरासी(पश्चिम) को बर्दघाट नगरपालिका–१४ नारायणचोकबाट नियन्त्रित लागूऔषध बुप्रोनोर्फिन २४ एम्पुल, डाइजेपाम २४ एम्पुल र प्रोमेथाजिन हाइड्रोक्लोरिड २३ एम्पुलसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका–१ बस्ने ३५ वर्षीय राजु श्रेष्ठ रहेका छन् । ईलाका प्रहरी कार्यालय सेमरीबाट खटिएको प्रहरी टोलीले उनलाई उक्त लागूऔषधसहित मंगलबार बिहान पक्राउ गरेको हो ।

यसैगरी मोरङको बिराटनगर महानगरपालिका–१६ हुलास चोकबाट नियन्त्रित लागूऔषध लुपिजेसिक ७ एम्पुल, फेनारगन २ एम्पुल, एभिल ७ एम्पुल र डाइजेपाम ७ एम्पुलसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कानेपोखरी गाउँपालिका–४ बस्ने ३५ वर्षीय सुबिन राई रहेका छन् । लागूऔषध नियन्त्रण व्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १–०२–०४५१ प ४८२४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित मंगलबार दिउँसो पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर

सिफारिस