छुट्टाछुट्टै ठाँउबाट अवैध लागूऔषधसहित ४ जना पक्राउ

दियो पोस्ट  

काठमाडौं । विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ४ जना पक्राउ परेका छन् ।  कञ्चनपुरको छुट्टाछुट्टै ठाउँबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा भिमदत्त नगरपालिका–९ ब्रह्मदेव बस्ने ३४ वर्षीय भानुभक्त जोशी र सोही नगरपालिका–१० गड्डा बस्ने जनक बहादुर कार्की रहेका छन् । जोशीलाई करिब २ ग्राम २४ मिलिग्रामसहित सोही ठाउँबाट मंगलबार प्रहरीले पक्राउ गरेको हो । कार्कीलाई करिब ९ ग्राम १७ मिलिग्रामसहित सोही ठाँउ स्थित भुजेला पुलबाट प्रहरीले पक्राउ गरेको हो ।

साथै कास्कीको पोखरा महानगरपालिका–३० पावरहाउसबाट अवैध लागूऔषध गाँजा करिब ३ किलोसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखा सिरानचोक गाउँपालिका–४ घर भएका २३ वर्षीय विकास सिर्मल रहेका छन् । वडा प्रहरी कार्यालय गगनगौँडाबाट खटिएको प्रहरी टोलीले ग.१ ख ४०९४ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजासहित मंगलबार साँझ पक्राउ गरेको हो ।

यसैगरी सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–८ रंगशाला नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ८० मिलिग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही नगरपालिका–२ बस्ने २४ वर्षीय तिर्थ रावत रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले उनलाई उक्त पदार्थसहित मंगलबार साँझ पक्राउ गरेको हो ।

साथै सिरहाको सिरहा नगरपालिका–१७ पटेर्वा बाँधस्थित सडकबाट करिब ७ किलो गाँजा मंगलबार राति प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय माडरबाट खटिएको प्रहरी टोलीलेलाई देख्नासाथ बीआर ३२ सी ६०२२ नम्बरको मोटरसाइकल छाडेर चालक फरार भएका थिए । फरार भए भएपश्चात् मोटरसाइकल जाँच गर्ने क्रममा उक्त गाँजा फेला परेको हो । हाल फरार चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।