पक्राउ पुर्जी जारी भएपछि आफैं प्रहरीमा पुगिन् अधिवक्ता भगवती पाण्डे 

दियोपोस्ट संवाददाता

काठमाडौं। जातीय विभेदको कसुरमा पक्राउ पुर्जी जारी भएपछि अधिवक्ता भगवती पाण्डे ‘शीतल’ आफैं प्रहरीमा उपस्थित भएकी छन्।

जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको पाँच दिनपछि पाण्डे बुधबार बिहान जिल्ला प्रहरी परिसर काठमाडौंमा उपस्थित भएकी हुन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका निमित्त प्रवक्ता प्रहरी नायब उपरीक्षक अनील अधिकारीले अधिवक्ता पाण्डे बुधबार बिहान आफैं प्रहरी कार्यालयमा उपस्थित भएको जानकारी दिए।

‘हामीले उहाँको खोजी तीव्र पारेका थियौं, आज बिहान उहाँ आफै प्रहरी कार्यालय आउनुभयो,’ उनले दियोपोस्टसँग भने।

प्रहरीमा उपस्थित भएकी पाण्डेलाई म्याद थप गर्न दिउँसो जिल्ला अदालत पुर्‍याइएको छ। ‘म्याद थप भएपछि थप अनुसन्धान अगाडि बढाउँछौं,’ डिएसपी अधिकारीले भने।

बुधबार दिउँसो पाण्डेलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै प्रहरी परिसर टेकु अगाडि प्रदर्शन भएको थियो। त्यहाँबाट ३५ जनालाई नियन्त्रणमा लिएको डिएसपी अधिकारीले जानकारी दिए।

पाण्डेले एक टेलिभिजन अन्तर्वार्तामा मुस्लिम, मगर, तामाङ, लगायत  समुदायमा दाजुबहिनीबीच विवाह  हुने  विवादास्पद अभिव्यक्ति दिएकी थिइन्।

उनको अभिव्यक्तिविरूद्ध सो समुदायका मानिसहरूले प्रहरीमा जाहेरी दिएका थिए। जाहेरी परेपछि उनलाई पक्राउ गर्न काठमाडौं प्रहरी परिसरले साउन १२ गते जिल्ला अदालतबाट पुर्जी लिएको थियो।

त्यसयता उनी फरार थिइन्।

उनीविरूद्ध जातीय विभेदको कसुरमा अनुसन्धान हुने डिएसपी अधिकारीले जानकारी दिए।

सम्बन्धित खबर

सिफारिस