सुनसरीमा गोलि प्रहार गरी हत्या गरेको आरोपमा २ जना पक्राउ

दियो पोस्ट  

सुनसरी । सुनसरीमा गोलि प्रहार गरी हत्या गरेको आरोपमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा मोरङ लेटाङ नगरपालिका–१ का ३५ बर्षीय दिपक तिमिल्सिना र सुनसरी धरान उपमहानगरपालिका–१० का  ३४ बर्षीय अनसन राई रहेका छन् ।

मोरङ बिराटनगर महानगरपालिका–५ कोचाखाल बस्ने २८ बर्षीय रोहित चौधरीलाई उनीहरुले पेस्तोल तथा खुकुरी देखाई जबरजस्ती लुटपाट गर्ने क्रममा प्रतिकार गर्दा चौधरीलाई गोली प्रहार गरी फरार भएका थिए । उक्त प्रहारबाट गम्भीर घाइते भएका चौधरीको बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा साउन ५ गते साँझ मृत्यु भएको हाे ।

कार्यालय बिराटनगर, नेपाल प्रहरी प्रदेश कार्यालय धरान, जिल्ला प्रहरी कार्यालय सुनसरी, ईलाका प्रहरी कार्यालय ईटहरी समेतबाट संयुक्त रूपमा खटिएको प्रहरीले उनीहरूलाई धरान पुतली लाइनबाट अटोमेटिक चाईनिज पेस्तोल १ थान, गोली ९ राउण्ड, म्यागजिन २ थान,  खुकुरी २ थान, औठी १ थान र गोलीको खोका १ थानसहित मंगलबार पक्राउ गरेको छ । प्रारम्भिक अनुसन्धानको क्रममा असार ८, २३ र ३१ गते धरानको छुट्टाछुट्टै स्थानमा भएका श्रृङखलाबद्ध लुटपाटमा समेत उनीहरूको संलग्नता रहेको खुल्न आएको हाे ।

पक्राउ परेकामध्ये तिमिल्सिना जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद भुक्तान गरी २ महिना अगाडि छुटेको र तामाङ लागूऔषध मुद्दामा ६ महिना कैद भुक्तान गरी २ वर्ष अगाडि छुटेको तथा दुवै जना लागूऔषध दुर्व्यसनी रहेको समेत अनुसन्धानको क्रममा खुल्न आएको छ ।

उनीहरूमाथि १० दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भईरहेको छ भने घटनामा संलग्न अन्य व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको छ ।