काठमाडौं । काठमाडौं उपत्यकाको बौद्ध जोरपाटी लगायतका स्थानहरूमा सर्वसाधारणलाई डर धम्की दिई उच्छृङ्खल गतिविधि गरेको आरोपमा ५ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक मेलम्ची घर भई जिल्लाको गोकर्णेश्वर बस्ने ३४ वर्षीय श्याम बहादुर लामा, काठमाडौं कागेश्वर मनहरा डाँछी बस्ने ३६ वर्षीय भिम बहादुर बस्नेत, सोही ठाँउ मुलपानी बस्ने ३५ वर्षीय गोविन्द गजमेर, सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी घर भई हाल गोकर्णेश्वर बस्ने ३५ वर्षीय प्रविण तामाङ र रामेछाप गोकुलगंगा घर भई हाल जोरपाटी बस्ने २८ वर्षीय बिक्की लामा (बाफ्ले) रहेका छन् ।
उनीहरुले काठमाडौं उपत्यकाको बौद्ध, जोरपाटीलगायतका स्थानमा सर्वसाधारण व्यक्तिसँग अनावश्यक विवाद गरी डरत्रास, भय सिर्जना गर्नुका साथै निजहरुले समूहमा गई सर्वसाधारणलाई कुटपिट, गैरकानुनी रुपमा रकम माग गर्ने लगायतका अपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा मंगलबार प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेकामाथि मुलुकी अपराध संहिता २०७४ को दफा ११८ को अभद्र व्यवहार गर्न नहुने कसूरमा थप अनुसन्धानको लागि आज प्रहरी वृत्त बौद्ध, काठमाडौँ पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।