काठमाडौं । विभिन्न ठाँउबाट अवैध लागूऔषधसहित ९ जना पक्राउ परेका छन् । कञ्चनपुरको भिमदत्त नगरपालिका–१० ब्यारेलबाट अवैध लागूऔषध खैरो हेरोईन ७ ग्राम ५७ मिलिग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही नगरपालिका–१८ बस्ने २० वर्षीय भुवन खुना रहेका छन् । ईलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले उक्त लागूऔषधसहित बुधबार दिँउसो पक्राउ गरेको हो ।
यसैगरी कैलालीको विभिन्न ठाँउबाट अवैध लागूऔषधसहित २ जना पक्राउ परेका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका–४ बसपार्क डेरा गरी बस्ने अछाम मंगलसेन नगरपालिका–१ घर भएका २३ वर्षीय रमेश राना र सोही उपमहानगरपालिका बोराडाडी बस्ने २५ वर्षीय बिज्ञान बस्नेत रहेका छन् । रानालाई ५ ग्राम लागू औषधसहित लागूऔषध नियन्त्रण व्यूरो महेन्द्रनगर र जिल्ला प्रहरी कार्यायल कैलालीबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–३ त्रिनगर ब्यारेलबाट पक्राउ गरेको हो । यसैगरी बस्नेतलाई ७ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगरसहित सोही उपमहानगरपालिका–२ मिलनचोकबाट बुधबार दिउँसो पक्राउ गरेको हो ।
यसैगरी काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–५ थलीबाट नियन्त्रित लागूऔषध प्रोमेथाजाइन ३२ एम्पुल, बुप्रोनोर्फिन ३२ एम्पुल र डाईजेपाम ३२ एम्पुल, ७ थान सिरिन्ज र नगद १० हजार रूपैयाँसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा हाल कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानी बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–७ भोटेचौर घर भएका ३१ वर्षीय शालिकराम खतिवडा र रामेछाप गोकुल गंगा गाउँपालिका घर भएका ३० वर्षीय सुविन सुनुवार रहेका छन् । विशेष सूचनाको आधारमा प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरीले बा.७७ प १५३० नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित बुधबार दिउँसो पक्राउ गरेको हो ।
साथै ललितपुरको ललितपुर महानगरपालिका–२५ सातदोबाटोबाट नियन्त्रित लागूऔषध नोर्फिन १० एम्पुल, डाईजेपाम १० एम्पुल र फेनारगन १० एम्पुलसहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा मकवानपुर चिसोपानी नगरपालिका–९ घर भई हाल ललितपुर धापाखेल बस्ने २४ वर्षीय दिपेश कार्की, सिन्धुली मरिण गाउँपालिका–३ घर भई हाल सोही ठाँउ बस्ने २२ वर्षीय दिपेश तामाङ र सिन्धुपाल्चोक निशंखु गाउँपालिका घर भई भक्तपुर बस्ने २६ वर्षीय सजन तामाङ रहेका छन् । उनीहरुलाई प्रहरीले बुधबार साझँ पक्राउ गरेको हो ।
यसैगरी ललितपुरकै महालक्ष्मी नगरपालिका–३ टिकाथली झोलुङगे पुल नजिकबाट नियन्त्रित लागूऔषध भेनस १० पिस, स्पास्पेन १० पिस र वरनेकस १ पिससहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहट बडियापुर नगरपालिका–८ घर भई हाल ललितपुर इमाडोल बस्ने २१ वर्षीय रतन जी रहेका छन् । प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।