काठमाडौं । विभिन्न स्थानमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । रौतहटको माधवनारायण नगरपालिका–२ खेसरहियास्थित सडकमा शिवनगरबाट खेसरहियातर्फ जाँदै गरेको ना.६३ प ९७३५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने २२ वर्षीय राजकपुर राय यादव रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको एनएमसी अस्पताल वीरगंजमा उपचारको क्रममा बुधबार दिउँसो मृत्यु भएको हो ।
यसैगरी उदयपुरको चौदण्डीगडी नगरपालिका–६ खत्री टोलमा मदनभण्डारी लोक राजमार्गबाट खत्रीटोलतर्फ जाँदै गरेको प्र.१०५००१ प ८५०५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–७ हाङबजार बस्ने २३ वर्षीय दिपसन मगर रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको घरान घोपा अस्पतालमा उपचारको क्रममा बुधबार राति मृत्यु भएको हो ।
यसैगरी धादिङको थाक्रे गाउँपालिका–२ सिमस्थित सडकमा मालडुङबाट महादेववेशीतर्फ जाँदै गरेको प्र.२–०३–००१ त ४३१९ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टरमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गाउँपालिका–३ मालडुङ बस्ने ६० वर्षीय रामप्रसाद अर्याल रहेका छन् । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।