छुट्टाछुट्टै ठाँउमा सवारी दुर्घटनामा ४ जनाको मृत्यु

दियो पोस्ट  

काठमाडौं । विभिन्न ठाँउमा सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । सिरहाको भगवानपुर गाउँपालिका–१ सिनुरियास्थित सडकमा स.७ प २१५९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गाउँपालिका–५ लालपुर बस्ने २५ वर्षीय पुजा कुमारी सिंह रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएकी उनको सप्तऋषि अस्पताल लहानमा उपचारको क्रममा बिहीबार दिउँसो मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

यसैगरी कैलालीको जानकी गाउँपालिका–३ नयाँ लायकपुर शिविरस्थित सडकमा साइकलबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ६६ वर्षीय बुद्धिराम थारु गुरुवा रहेका छन् । दुर्घटनाबाट गम्भिर घाइते भएका उनको बिहीबार दिउँसो घटनास्थलमै मृत्यु भएको हो ।

साथै बाराको जितपुर सिमरा उपमहानगरपालिका–२ स्थित सडकमा पथलैयाबाट सिमरातर्फ जाँदै गरेको ना.२३ प ७१८२ नम्बरको मोटरसाइकल  दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही उपमहानगरपालिका–७ जितपुर बस्ने १६ वर्षीय नौसाद कवारी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको बयोधा हस्पिटल गण्डक वीरगंजमा उपचारको क्रममा बिहीबार राति मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

यसैगरी सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ उत्तरगंगास्थित सडकमा भुलेरी चोकबाट सदरमुकामतर्फ जाँदै गरेको क.प्र.००२ प १९७७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिकोट शुभकालिका गाउँपालिका–३ बस्ने २३ वर्षीय विमोचन विष्ट रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचारको क्रममा बिहीबार राति मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकसहित २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनास्थलमा उद्दार कार्यको साथै दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।