छुट्टाछुट्ट्रै ठाउँबाट अवैध लागुऔषधसहित ९ जना पक्राउ

दियो पोस्ट  

काठमाडौं । विभिन्न ठाउँमा अवैध लागूऔषधसहित ९ जना पक्राउ परेका छन् । जुम्लाको चन्दननाथ नगरपालिका–६ विजयनगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय १० मिलिग्रामसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा सोही नगरपालिका–१० बस्ने १८ वर्षीय किशोरसहित २ जना रहेका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई उक्त पदार्थसहित शनिबार दिउँसो पक्राउ गरको हो ।

यसैगरी सर्लाहीको मलंगवा नगरपालिका–१ स्थितबाट अवैध लागूऔषध गाँजा करिब ५ किलोसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही नगरपालिका–८ बस्ने २७ वर्षीय सरोज साह रहेका छन् । प्रहरी चौकी गोरखकाली र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट खुटौनाबाट खटिएको संयुक्त टोलीले भारततर्फ जाँदै गरेका उनलाई उक्त गाँजासहित शनिबार दिउँसो पक्राउ गरेको हो ।

साथै कैलालीको धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारेल नजिकबाट अवैध लागूऔषध खैरो हेरोईन १ ग्राम ३ सय ३० मिलिग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको गोदावरी नगरपालिका–५ बस्ने २९ वर्षीय दिपक राना रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१०१० प ४५३७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा ऐनाभित्र लुकाई ल्याएको उक्त लागूऔषधसहित शनिबार दिउँसो पक्राउ गरेको हो ।

यसैगरी कैलालीकै गोदावरी नगरपालिका–२ अत्तरियाबाट अवैध लागूऔषध खैरो हिरोईन जस्तो देखिने पदार्थ ८ सय २० मिलीग्रामसहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा सोही नगरपालिका–२ तेघरी बस्ने २७ वर्षीय तेज बहादुर खड्कासहित ३ जना रहेका छन् । ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई उक्त पदार्थसहित शनिबार साँझ पक्राउ गरेको हो ।

साथै चितवनको रत्ननगर नगरपालिका–२ टाँडीचोकबाट अवैध लागूऔषध चरेशजस्तो देखिने पदार्थ करिब ५ किलो १ सय ग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङ थाक्रे गाउँपालिका–३ बस्ने ३२ वर्षीय भिमलाल तामाङ रहेका छन् । ईलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको प्रहरीले बा.८७ प २१०२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित शनिबार राति पक्राउ गरेको हो ।

यसैगरी झापाको झापा गाउँपालिका–४ सुकुमबासी बस्तीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम ४ सय ५० मिलिग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ईलाम मङसेबुङ गाउँपालिका–९ बस्ने ३० वर्षीय युवराज लिम्बु रहेका छन् । प्रहरी चौकी टाघनडुब्बाबाट र सशस्त्र प्रहरी बल बोर्डर आउटपोष्ट पन्थपाडाबाट संयुक्त रुपमा खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थसहित शनिबार साँझ पक्राउ गरेको हो ।
सवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।