
काठमाडौं । विभिन्न ठाउँबाट अवैध लागूऔषधसहित १८ जना पक्राउ परेका छन् । बाराको जितपुरसिमरा उपमहानगहरपालिका–२२ स्थित २ नम्बर जंगलबाट अवैध लागूऔषध गाँजा करिब १ सय ५७ केजीसहित ७ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा मकवानपुर हेटौंडा उपमहानगरपालिका–१ बस्ने ३९ वर्षीय रोशन नेगीसहित ७ जना रहेका छन् । मकवानपुरको भैसेबाट बा.११ च ४९९२ नम्बरको स्कारपियोमा ६ वटा पोका बनाई ल्याएको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई उक्त गाँजा र स्कारपियोसहित आइतबार साँझ पक्राउ गरेको हो ।
थप अनुसन्धानको क्रममा गाँजा ओसारपसारमा संलग्न अन्य ४ जना भारतीय नागरिक र २ जना नेपाली नागरिकलाई बीआर ०५ जी ८६५६ नम्बरको भारतीय पिकअप र बीआर ०५ ए जेड ८९६१ नम्बरको भारतीय मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो ।
यसैगरी सुनसरीको धरान उपमहानगरपालिका–५ देउरालीबाट अवैध लागूऔषध गाँजा ३ किलो ४ सय ग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत फार्विसगंज–१२ बस्ने ३० वर्षीयको गुद्दु साह रहेका छन् । अस्थायी प्रहरी पोष्ट देउरालीबाट खटिएको प्रहरी टोलीले बीआर ३८ एन ५२२६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त गाँजासहित आइतबार साँझ पक्राउ गरेको हो ।
यसैगरी काठमाडौंको तारकेश्वर नगरपालिका–३ तिनपिप्लेबाट अवैध लागूऔषध गाँजा करिब १ किलो ४ सय ग्रामसहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा सोही नगरपालिका–५ गोलढुङ्गा बस्ने २५ वर्षीय जक्सन महर्जनसहित ३ जना रहेका छन् । अस्थायी प्रहरी पोष्ट तिनपिप्लेबाट खटिएको प्रहरीले बा.२ ख ३०२२ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त गाँजा सहित आइतबार साँझ पक्राउ गरेको हो ।
यसैगरी कैलालीको गौरीगंगा नगरपालिका–८ बढैपुरबाट अवैध लागूऔषध खेरो हेरोईन जस्तो देखिने पदार्थ २ सय १० मिलिग्रामसहित ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २३ वर्षीय खगेन्द्र बाठामगरसहित ५ जना रहेका छन् । बिशेष सूचनाको आधारमा सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई उक्त पदार्थसहित आइतबार साँझ पक्राउ गरेको हो ।
साथै दार्चुलाको शैल्यशिखर नगरपालिका–३ कर्कलेबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ करिब ६ किलो १ सय ग्रामसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा महाकाली नगरपालिका–४ खलंगा बस्ने ६६ वर्षीय मान सिंह ठगुन्ना र नौगाड गाउँपालिका–४ सिप्टी मलमटे बस्ने ७० वर्षीय गौर सिंह ठगुन्ना रहेका छन् । ईलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई उक्त पदार्थसहित गए राति पक्राउ गरेको हो ।
सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।