चोरी मुद्दाका फरार प्रतिवादी ७ वर्षपछि पक्राउ

दियो पोस्ट  

काठमाडौं । चोरी मुद्दाका फरार प्रतिवादी ७ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा सल्यान कुमाख गाउँपालिका–४ वस्नेतज्यूला घर भई हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका–६ बौद्ध नयाँबस्ती बस्ने २९ वर्षीय जीवन बुढाथोकी रहेका छन् ।

जिल्ला अदालत काठमाडौंको २०७३ माघ ७ गतेको फैसलाले उनलाई रहजनी चोरी मुद्दामा २ महिना कैद र २ लाख १४ हजार २६ रूपैयाँ जरिवाना ठहर गरेको थियो । उनले २५ दिन कैद भुक्तान गरी सकेको तर जरिवाना र बाँकी कैद १ महिना ५ दिन भुक्तान गर्ने बाँकी रही फरार भएका थिए ।

फरार पछि उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले ७ वर्षपछि काठमाडौं चावहिलबाट आइतबार पक्राउ गरेको हो । उनलाई जिल्ला अदालत काठमाडौं बबरमहलमा उपस्थित गराइएको छ ।