डर त्रास दिई व्यवसाय संचालन गर्न अवरोध गर्ने एक जना पक्राउ

दियो पोस्ट  

काठमाडौं । डर त्रास दिई व्यवसाय संचालन गर्न अवरोध गरेको आरोपमा एक जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–३० रातोपुलस्थित एनआरके फिटनेस जिमहल संचालन गर्न अवरोध गरेको आरोपमा एक जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१७ ठहिटि ठेगाना भएका ५२ वर्षीय नेपाल कम्युनिष्ट पार्टीको काठमाडौं जिल्ला दिपक मानन्धर (सेक्रेटरी) रहेका छन् ।

उनले फिटनेस जिमहलमा साउन १७ गते दिउँसो प्रवेश गरी कर्मचारीहरु तथा सर्वसाधारण व्यक्तिहरुलाई विभिन्न किसिमका धाक धम्की दिई जिमहल बाहिर निकालेका थिए । उनले कर्मचारीहरुलाई डर त्रासमा पारी जिमहल संचालन गर्न नदिने भन्दै हस्त लिखित पर्चा टाँसी उक्त जिम हल बन्द गराउने कार्य गरेका थिए । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले काठमाडौं दरवारमार्गबाट आइतबार पक्राउ गरेको हो ।

उनी उपर अपराधिक लाभ लिन नहुने सम्बन्धी कसूरमा थप अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।