
पोखरा । कालीगण्डकी बचाऔं अभियानका अभियन्ता आरके अदिप्त गिरीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । गिरीले सामाजिक सञ्जालमा पर्वतका पत्रकारविरुद्ध लेखेको भन्दै उनीविरुद्ध साइबर अपराध मुद्दामा किटानी जाहेरी परेको थियो । अहिले देशभर चलिरहेको पत्रकार शुद्धीकरणका विषयमा फोटो पत्रकारसमेत रहेका अभियान्ता गिरीले पर्वतका पत्रकारमाथि तिखो प्रहार गरेर लेखेका थिए । पर्वतका पत्रकार स्वार्थमा बिकेको भन्दै गिरीले लेखेको स्टाटसमाथि त्यहाँका पत्रकारहरुले प्रमाणित गर्न प्रश्न गरेका थिए ।
किटानी जाहेरी दिनेमा पर्वतका पत्रकार गणेश पौडेल, छविलाल तिवारी, सन्तोष थापालगायत छन् । गिरीले भने गलत प्रवृतिको विरोध गर्दै लेखेकै भरमा आफूमाथि षडयन्त्र गरिएको बताएका छन् ।
कालीगण्डकी बचाउनका निम्ति र पत्रकारिताका नाममा गलत प्रवृत्तिको पनि संरक्षण गरिएको भन्दै आफूले ब्यंग्य गर्दा पक्राउ पुर्जी नै जारी गर्ने अवस्था सिर्जना गरिएको बताए ।
गिरीले भने, “पत्रकारिता क्षेत्र नै राज्यकोष दोहनको धन्दामा लाग्नु साथै दलाल, तस्कर, बिचौलियाको चगुंलमा पत्रकारिता क्षेत्र पर्नु भनेको विडम्बना हो । पर्वतका अधिकांश पत्रकारले जनसरोकारको विषयमा कलम चलाउनु भन्दा तस्कर र बिचौलियालाई केन्द्रमा राखेर पत्रिकालाई नै मागी खाने भाँडो बनाउनु पत्रकारिता जस्तो मर्यादित र सम्मानित पेशालाई दुर्गन्धित बनाउनु हो । सामाजिक बेथितिका विरुद्ध सामाजिक सञ्जालमा केही कुरा बोल्दैमा साइवर अपराधको आरोप लगाई पक्राउ पुर्जी जारी हुनु स्वतन्त्र अभिव्यक्तिका विरुद्ध भएको भनी नागरिक समाजले आपत्ति जनाएका छन् ।
वाइल्ड लाइफ फोटोग्राफी गर्दै आएका गिरी केही वर्षदेखि कालीगण्डकी बचाउ अभियान, कुश्मा कला परियोजना चलाइरहेका छन् ।