अवैध रुपमा बाह्य मुलुकतर्फ लैजान लागेका विदेशी मुद्रासहित २ जना पक्राउ

दियो पोस्ट  

काठमाडौं । अवैध रुपमा बाह्रा मुलुकतर्फ लैजान लागेका विदेशी मुद्रसहित २ जना पक्राउ परेका छन् । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट अवैध रूपमा लुकाई छिपाई लैजान लागेको ५ सय दरको १ हजार १ सय थान गरी जम्मा ५ लाख ५० हजार भारतीय रूपैयाँसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक ४७ वर्षीय बरूनेश चन्द्र रहेका छन् । ईन्डिगोको उडानद्वारा काठमाडौंबाट दिल्ली जान लागेका उनलाई बिमानस्थलको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उनको साथबाट उक्त भारतीय रूपैयाँसहित सोमबार दिउँसो पक्राउ गरेको हो ।

यसैगरी काठमाडौंकै त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट अवैध रूपमा लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको १ सय दरको १ सय ४२ थान गरी १४ हजार २ सय अमेरिकी डलरसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा साउदी अरेबियन नागरिक ५३ वर्षीय अलयम्नी अबदुल्लाह अबदुलरहमान रहेका छन् ।
बाटिक एयरको उडानद्वारा मलेसिया जान लागेका उनलाई बिमानस्थलको ह्याण्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उक्त परिमाणको अमेरिकी डलरसहित सोमबार राति पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीको लागि राजश्व विभाग हरिहरभवनमा बुझाउने प्रयोजनार्थ प्रहरी वृत गौशलामा पठाइएको छ ।