काठमाडौं । सर्लाहीमा एक व्यक्तिमाथि जातिय भेदभाव तथा छुवाछुतको घटना भएको छ । जिल्लाको ईश्वरपुर नगरपालिका वडा नं. ८ का वडाध्यक्ष श्याम थापाका छोरा हिमाल थापाले जातकै कारण ६५ वर्षीय जनकबहादुर विश्वकर्मासहितलाई कुटपिट गरेको आरोप छ । गत असार १७ गते बेलुका ७ः३० बजेको समयमा जनकबहादुर खाना खाने तयारी गर्दै थिए । सोही क्रममा थापा मादक पदार्थ सेवन गरि दलित भएर आफूहरु ठूला जातिलाई नटेर्ने भन्दै कुटपिट गरेको पीडितहरु बताउँछन् ।
उनीहरुका अनुसार गालीगलौज गर्दै घरमै घुसेर लछारपछार गरी गालामा दुई थप्पड र छातीमा एक मुक्का प्रहार गरेपछि जनकबहादुरले थापालाई हामीले तपाईहरुलाई के गरेका छौं र ? भन्दै प्रतिप्रश्न गर्दा कामीहरुको जवाफ फर्काउने यत्रो हिम्मत भन्दै जंगिएका थिए । “तँ साले डुम भएर हामी ठूला जातिलाई नटेर्ने, मुख मुखै लाग्ने, अचेल तँहरु निकै चढिएको छस् भन्दै घरमै आई आँगनमा लछारपछार गरी गालामा दुई थप्पड र छातीमा एक मुका प्रहार गरे । हामीले तपाईहरुलाई के गरेका छौं र ! भन्दै प्रतिप्रश्न गर्दा अझ ठूलो कुरा गर्छस् ? साले कामीहरु तिमीहरुको जवाफ फर्काउने यत्रो हिम्मत ।” भन्दै जताभावी बोलेको उजुरीमा उल्लेख छ ।
त्यतिन्जेलसम्म जनकबहादुरका भतिजहरु र भाइ बुहारीहरु घटनास्थल आइपुगेका थिए । उनीहरुमाथि पनि थापा खनिएपछि विवाद झनै बढ्दै गएको थियो । जातिय दम्भ देखाउने थापाले यिनीहरुलाई ठिक पार्नु पर्छ भन्दै थप केही व्यक्तिहरुलाई समेत बोलाए । त्यसपछि दलित समुदायमा झडपले झन् ठूलो रुप लियो ।
थापाको बोलावटामा रेखा खड्काहितका महिलाले चौडिका कमिनी, डुमिनीहरु धैरै चिढिएको र ठिक लगाउनु पर्छ भन्दै आक्रमण गर्न आएको पीडितहरु बताउँछन् । झडपमा राजेन्द्र खड्का, अनिता कार्कीसहतिले सुमित्रा वि.क. माथि लाठी प्रहार गर्नुका साथै लछापछार गरेका थिए ।
घटनापश्चात दुबै पक्षको सहभागितामा इलाका प्रहरी कार्यालय बयलबासमा छलफल गरियो । तर थापाले प्रहरी समक्ष नै दमाई कामीहरुलाई जुत्ताको तल धुलो बनाएर राख्नुपर्छ भन्दै छलफलको टुंगोमा नपुगेर त्यहाँबाट हिडेका थिए ।
सार्वजनिक पद धारण गरेका वडा अध्यक्ष श्याम थापाले दलित समुदायका बालबालिकाहरुलाई स्थानीय फुटबल ग्राउण्डमा निषेध गर्ने प्रयास गर्दै आएको जाहेरीमा उल्लेख छ ।
उनीहरुले थापासहितविरुद्ध ईलाका प्रहरी कार्यालय केशरगंज सर्लाहीमा आज(मंगलबार) जाहेरी दर्ता गरेका छन् । सुमित्रा वि.क, रवि वि.क र जनकबहादुर विश्वकर्मासहितले संयुक्त जाहेरी दिएका हुन् । उनीहरुले प्रतिवादीहरुलाई पक्राउ गरी हदैसम्मको सजाय र उपचार खर्च तथा क्षतिपूर्ती समेतको माग गर्दै जाहेरी दर्ता गराएका छन् ।
उसो त प्रदेश नम्बर २ दलितका लागि सबै भन्दा धेरै असुरक्षित प्रदेश पनि मानिन्छ । मधेश प्रदेशमा जातकै कारण सयौं महिला बलात्कृत भएका छन् भने, कयौंको हत्या भएको छ ।