रुकुम । हत्या गरेको आरोपमा रुकुमका २ जना महिला पक्राउ परेका छन् । जिल्लाको मुसिकोट नगरपालिका–१ सल्ले बस्ने ५२ वर्षीया हस्तकली बुढाथोकीको हत्या गरेको आरोपमा मा २ जना महिला पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २३ वर्षीया सिर्जना बुढा बोहरा र सोही नगरपालिका–५ टटेलाबस्ने ३० वर्षीया शोभा कुमारी सुनार सोनी रहेका छन् ।
बुढाथोकी साउन १९ गते राति आफ्नै घरको कोठामा मृत अवस्थामा फेला परेको खबर प्राप्त हुनासाथ कर्णाली प्रदेश केनाईन शाखा कोहलपुर बाँके, कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत र जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमबाट खटिएको प्रहरी टोलीले अनुसन्धान सुरु गरेको थियो ।
अनुसन्धानको क्रममा घटनामा उनीहरूको संलग्नता रहेको खुल्न आए पछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
उक्त घरबाट चोरी भएका सुनको सिक्री १ थान, सुनको तिलहरी १ थान, सुनका कानवाली १ थान, सुनको चन्द्रमा १ थानसमेत स्वरुप परिवर्तन गरेको अवस्थामा प्रहरीले बरामद गरेको छ ।
उनीहरूमाथि जिल्ला अदालत रुकूम पश्चिमबाट ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।