आयल निगम गण्डकीका प्रमुख चितरञ्जन दासमाथि डिजेल चोरीको आरोप, ट्याङ्कर नियन्त्रणमा

दियोपोस्ट संवाददाता

कास्की । नेपाल आयल निगम गण्डकी प्रादेशिक कार्यालयबाट डिजल चोरी गरि बिक्रीका लागि लैजादै गरेको ट्याँकर नियन्त्रणमा लिइएको छ । निगमको डिपोबाट लोड गरी पश्चिमाञ्चल पेट्रोल पम्पमा लैजाँदै गरेको ग २ ख ८३६ नम्बरको ट्याँकर कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको आदेशमा पक्राउ गरिएको हो ।

निगमका प्रादेशिक कार्यालय प्रमुख चितरञ्जन दासले ईन्धन चोरी गरि पठाएको भन्ने विशेष सूचनाका आधारमा ट्यांकर पक्राउ गरिएको जनाईएको छ । १२ हजार लिटर क्षमताको उक्त ट्याँकरमा ३ हजार लिटर थप ईन्धन चोरी गरि बिक्री गर्न पठाईएको आरोप छ । पक्राउ गरिएको ट्याँकर डाँडाकोनाक चौकीमा राखिएको छ । नापतौल विभागको रोहबरमा प्रहरी र आयल निगमको छानबिनपछि जिल्ला प्रशासन कार्यालयमा पठाइएको छ । जिल्ला प्रसाशन कार्यालयले अख्तियारको पोखरा कार्यालयमा उजुरी दर्ता गरेको प्रहरी स्रोतले बतायो ।

चोरीको आरोप लागेका दासलाई सम्पर्क गर्न खोज्दा उनीसँग सम्पर्क हुन सकेन । दासमाथी डिपोको लागि तोकिएको नोक्सानी लक्ष्यको दुरुपयोग गरि इन्धन चोरी गर्ने गरेको आरोप छ । दास प्रदेश प्रमुख बनेपछि गण्डकीमा निगमले अघिल्लो वर्षभन्दा दोब्बर नोक्सानी व्यहोरेको निगम केन्द्रीय कार्यालयको प्रतिवेदनमा उल्लेख छ । डिपोबाट बिक्र हुने इन्धनको नापजाँच गर्न (डिप लिने) कार्यालयका अपरेशन ईन्चार्ज परशुराम अधिकारीलाई नदिई दासले आफै गर्ने गरेका थिए ।

सम्बन्धित खबर