मुगु जिप दुर्घटना : हुम्लाका ४ यात्रुको मृत्यु

दियो पोस्ट  

मुगु । जिल्लाको शोरु गाउँपालिकामा भएको जिप (बोलेरो) दुर्घटनामा मृत्यु हुनेमा चारै जना हुम्लाका रहेका छन् । सोरुकोटबाट मुगु जाँदै गरेको ग१ज ७७६२ नम्बरको जिप सिपको पहिरा भन्ने ठाउँमा सोमबार साँझ दुर्घटनामा भएको थियो । मृत्यु हुनेमा ४ जना हुम्लाकै भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक महेश बस्नेतले जानकारी दिए ।

उनका अनुसार सो जिपमा चालकसहित ९ जना सवार रहेका थिए । प्रनाउ बस्नेतले भने “मृतकमा सर्केगाड गाउँपालिका–२ रिपका राम परियार, सिमकोट गाउँपालिका–२ का प्रकाश बोहरा, ठेगाना स्पष्ट नभएका राम परियार, पिउस परियार भएको शोरु प्रहरी चौकीले सनाखत गरेको छ ।”

जिपमा सवार हुम्लाका ५ जनामध्ये २ जनाको घटनास्थलमै मृत्यु भएको हो भने २ जनाको उपचारका क्रममा तारापानी आधारभूत स्वास्थ्यचौकीमा मृत्यु भएको छ । उक्त जिपमा चालकसहित नौ यात्रु रहेका बताइएको छ । जिप दुर्घटनाको कारणबारे अहिलेसम्म केही खुलेको छैन ।