कर छलि गरेको आशंकामा ठमेलको एलओडी क्लबमा राजश्व टोलीको छापा

दियो पोस्ट  

काठमाडौं । काठमाडौंको ठमेलस्थित लर्ड अफ ड्रिंक्स (एलओडी) क्लबमा राजश्व अनुसन्धान विभागको टोलीले छापा मारेको छ।
कर छली गरेको सूचनाको आधारमा विभागले एलओडीमा छापा मारेको हो।

विभागको टोली गत शुक्रबार नै ग्राहक बनेर क्लब पुगेको थियो।

ग्राहक कम हुँदै गएपछि ४ बजेबाट सुरु भएको अप्रेशन शनिबार दिउँसो २ बजे सकिएको विभाग स्रोतले जनाएको छ ।

एलओडीका सबै कारोबार खाता नियन्त्रणमा लिएको विभागका महानिर्देशक नवराज ढुंगानाले बताए ।
सो क्रममा क्लबमा आउनेहरुले तिर्ने र खास कर दाखिला खातामा चढाइने रकम बीचको भिन्नता जाँच गर्न विभागको टोली शुक्रबार रातभर नै बसेको थियो । विभागले उक्त क्लबबाट दैनिक हुने व्यापार र तिरेको कर, स्टक बुक र लेखा खाता नियन्त्रणमा लिएको छ ।

 यसका सञ्चालकहरूलाई भने विभागले बोलाएर अनुसन्धान गरिरहेको छ।

नाबालिगलाई क्लब भित्र छिराएको आरोपमा प्रहरीले सञ्चालकहरूलाई पक्राउ गरेको थियो। पछि म्यानेजरसहित केही कर्मचारीलाई पक्राउ गरी सञ्चालकहरूलाई छाडेको थियो।