छुट्टाछुट्टै ठाउँबाट अवैध लागूऔषधसहित ४ जना पक्राउ

दियो पोस्ट

काठमाडौं । विभिन्न ठाउँबाट अवैध लागूऔषसहित ४ जना पक्राउ परेका छन् । तनहुँको ब्यास नगरपालिका–११ गैराबारीबाट अवैध लागूऔषध गाँजा १ किलो ४ सय ग्रामसहित एक जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २६ वर्षीय राहुल नेपाली रहेका छन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरी टोलीले उनको घर तलासी गर्ने क्रममा उक्त गाँजासहित मंगलबार दिउँसो पक्राउ गरेको हो ।

यसैगरी झापाको झापा गाउँपालिका–४ पिचकानी टोलबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ५ ग्राम ७ सय ४० मिलिग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक नगरपालिका–३ बस्ने २२ वर्षीय जीवन सार्की रहेका छन् । प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले उक्त पदार्थसहित मंगलबार दिउँसो पक्राउ गरेको हो ।

साथै बाँकेको नेपालगंज उपमहानगरपालिका–१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ३० मिलिग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही उपमहानगरपालिका–१६ जयसपुर बस्ने २७ वर्षीय जगत नारायण कुर्मी रहेका छन् । उनलाई प्रहरीले मंगलबार राति पक्राउ गरेको छ ।

यसैगरी कैलालीको धनगढी उपमहानगरपालिका–४ बाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम २ सय ९० मिलिग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २४ वर्षीय विकास थापा रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनलाई उक्त लागूऔषधसहित मंगलबार राति पक्राउ गरेको हो ।
सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर