छुट्टाछुट्टै ठाउँमा सवारी दुर्घटनामा ५ जनाको मृत्यु

दियो पोस्ट  

काठमाडौं । विभिन्न स्थानमा सवारी दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।
काठमाडौं महानगरपालिका–६ बौद्ध भाटभाटेनी नजिक बा.५ ख ६३९४ नम्बरको बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–४ घर भएका २३ वर्षीय भिमराज तामाङ रहेका छन् । ठक्करबाट गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मंगलबार दिउँसो मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी झापाको कमल गाउँपालिका–५ स्थित सडकमा बीआर ११ एपी ४१४१ नम्बरको भारतीय कारले मे.७ प ४६४४ नम्बरको मोटरसाइकललाई मंगलबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गाउँपालिका–४ बस्ने ६७ वर्षीय डोर प्रसाद खनाल रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि लाइफलाइन अस्पताल दमक लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

साथै धनुषाको हंशपुर नगरपालिका–९ बालगंगा चोकस्थित खेतमा प्र.२–००२ त ८२९ नम्बरको ट्याक्टर हिलोमा फसेर निकाल्ने क्रममा ट्याक्टरमा जोडिएको रोटाभेटर र इन्जिनको बीचमा च्यापिएर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ४५ वर्षीय मुकेश पंजियार रहेका छन् । ट्याक्टरमा च्यापिएर गम्भीर घाइते भएका उनको उपचारको लागि जनकपुरतर्फ लैजाने क्रममा मंगलबार राति बाटोमै मृत्यु भएको हो ।

यसैगरी धनुषाकै लक्ष्मीनिया गाउँपालिका–७ स्थित सडकमा ज.१ च १६६९ नम्बरको बोलेरो पिकअपले प्र.२–०२–००३ प ९१५८ नम्बरको मोटरसाइकललाई मंगलबार राति
ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरी औरही गाउँपालिका–१ बस्ने २५ वर्षीय पप्पु यादव रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी पिकअपमा सवार १ जनाको स्थानीय सेन्ट्रल अस्पतालमा उपचार हुनुका साथै पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैसाथ दाङको तुलसीपुर उपमहानगरपालिका–८ चमेखोलास्थित सडकमा रा.४ प ९९०९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यान बागचौर नगरपालिका–२ बस्ने २६ वर्षीय कमल डाँगी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।