काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई संसद अवरोध अन्त्य गर्न आग्रह गरेका छन्।
बुधबार शीतलनिवास पुगेका ओलीलाई संसदको अवरोध अन्त्य गर्न आग्रह गरेका हुन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको सुन प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी दल एमालेले लामो समयदेखि संसद अवरुद्ध गर्दै आएको छ।
संसद लामो समयदेखि चल्न नसकेपछि राष्ट्रपति पौडेलले गतिरोध अन्त्यका लागि पहल गरिरहेका छन्। सोही अन्तर्गत आज एमाले अध्यक्ष ओलीसँग छलफल गरेको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।
संसद खुलाउने विषयमा एमाले पनि सकारात्मक रहेको ओलीले बताएका छन्। एमालेले सत्ता पक्षकै कारण संसद अवरोध गर्नुपर्ने अवस्था आएको बताउँदै आएको छ।
लामो समय संसद नचल्दा जनतामा नैराश्यता र संसदप्रति नै नकारात्मक धारण सिर्जना हुनसक्ने कारण दलहरूबीच विश्वासको वातावरण बनाएर संसदको गतिरोध अन्त्य गर्नुपर्ने राष्ट्रपति पौडेलको सुझाव छ।
राष्ट्रपति पौडेलले यसअघि साउन २६ सभामुख देवराज घिमिरेसँग पनि छलफल गरेका थिए। त्यसअघि साउन २५ गते प्रधानमन्त्री प्रचण्डलाई पनि शीतलनिवासमै बोलाएर छलफल गरेका थिए।