
काठमाडौं । विभिन्न ठाउँमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । काभ्रेको धुलिखेल नगरपालिका–४ मिराबेल चोकमा बा.२ क २०१९ नम्बरको मिनिट्रकले रा.७ प ७२८८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा प्युठान धर्मवती गाउँपालिका–७ बस्ने २७ वर्षीय सुरज गिरी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा बुधबार दिउँसो मृत्यु भएको हो । मिनि ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी सल्यानको त्रिबेणी गाउँपालिका–५ लाम्रीखोलास्थित सडकमा रा.१ ह ३९३० नम्बरको अटो सडकदेखि करिब १ सय ५० मिटर तल खसेर दुर्घटना हुँदा अटोमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा छत्रेश्वरी गाउँपालिका–४ अकासे बस्ने ५० वर्षीया ठगी कामी रहेका छन् । उनको बुधबार दिउँसो घटनास्थलमै मृत्यु भएको हो । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी धनुषाको मिथिला नगरपालिका–२ नक्टाझिजस्थित सडकमा हाल नम्बर नखुलेको गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरूष रहेका छन् । ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको हो । हाल फरार गाडी र चालकको प्रहरीले खोजी गरिरहेको छ ।
सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।