काठमाडौं । अवैध लागूऔषसहित ४ जना पक्राउ परेका छन् । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० बसपार्कबाट अवैध लागूऔषध गाँजा करिब ५ किलोसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्सा बहुदरमाई नगरपालिका–२ बस्ने २३ वर्षीय चन्दन कुमार रहेका छन् । प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरी टोलीले ना.६ ख ९३६१ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजासहित बिहीबार दिउँसो पक्राउ गरेको हो ।
यसैगरी मोरङको विराटनगर महानगरपालिका–१५ स्थित एक नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ३ ग्राम ४१ मिलिग्रामसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सुनसरी ईटहरी उपमहानगरपालिका–१९ बस्ने २१ वर्षीय अशोक राई र सोही उपमहानगरपालिका–२० बस्ने २१ वर्षीय विश्वराज राई रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले प्रदेश १–०२–०४४ प ३५८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित बिहीबार दिउँसो पक्राउ गरेको हो ।
साथै कैलालीको टीकापुर नगरपालिका–४ अस्नेरीबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १ ग्राम १ सय ६० मिलिग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही नगरपालिका–२ बन्दिपुर बस्ने २९ वर्षीय अशोक थापा मगर रहेका छन् । ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उक्त पदार्थसहित बिहीबार साँझ पक्राउ गरेको हो ।
सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।