काठमाडौं । पाँचथर, रानीगाउँ हङ्थुवाका माइतबल लिम्बु घर छाडेर हिँड्दा २० वर्षका थिए । एकजना गाउँले साथीसँग मेलम्ची खोला काटेर कोइलाखानी (असम) भारत भासिएका उनी त्यसयता जन्मभूमीमा पाइला टेकेका थिएनन् ।
उनी रानीगाउँ वीरबहादुर र कान्छीमायाका आठ सन्तान ( चार छोरा, चार छोरी ) मध्य जेठा थिए । उनी घर छाडेर हिँडेपछि सम्पर्कविहीन भए पनि भाइहरुलाई कतै छन् कि भन्ने आशा जीवित नै थियो । असमबाट गाउँ आउजाउ गर्ने व्यक्तिले माइतबल जीवित भएको खबर पनि दिए, तर सम्पर्कमा आउन सकेनन् । घर छाडेर हिँडेको ६० वर्षपछि भने माइतबलले मातृभूमिमा पाइला टेके, तर उनले भारतमा रहँदा आफ्नो नाम फेरेर जयबहादुर राखेका रहेछन् ।
माइतबल उर्फ जयबहादुरको शनिबार धरानमा माइला भाइ पदमप्रसाद (७६ वर्ष), साहिला भाइ गमबहादुर ( ७४ वर्ष) र कान्छी बहिनी सुकमायासँग एकसाथ भेट भयो । साहिला भाइ र कान्छी बहिनीसँग झण्डै एक महिनाअघि नै भेट भइसकेको भए पनि माइता भाइ पदमप्रसादसँग पहिलोपटक शनिबार उनको भेट भएको हो । दुवैले हेराहेर गरे, हाँसे पनि । जेठा दाइलाई निरन्तर खोजी गरेर भारतमा छन् भनेर पत्ता लगाउने माइला भाइ पदमप्रसाद नै हुन् । तर, उनी बेलायतमा भएको कारण भेत ढिलाइ भएको थियो ।
‘मैले नै दाइ जीवित नै छ भनेर सोधखोज गरिरहेँ । ऊ एक महिनाअघि आउँदा म बेलायतमा थिएँ, त्यसैले आज नै हो भेट भएको, ’माइला पदमप्रसादले भने,‘१९ /२० सालतिर गएपछि दाइ फर्किएनन् । हामी त माइतबल भन्थ्यौं, उता नाम फेरेर जयबहादुर भनेर बसेको रहेछन् । हामीले खोज्दा माइतबल भनेर खोज्छौं, उत्ता अर्कै नाम रहेछ । लामो सोधखोजपछि उनी असममा छन् भन्ने थाहा भए पनि भेट हुन भने सकेको थिएन उनले बताए । दाइ पनि यता आएनन् हामी पनि उता जानै सकेनौं,’ उनले थपे ।
आजको नागरिक दैनिक पत्रिकामा खबर छ ।