
काठमाडौं । अमेरिकी सेनेटका वैदेशिक मामिला तथा विनियोजित उपसमिति सदस्य सेनेटर क्रिस भ्यान होलेन नेपाल भ्रमणमा आउने भएका छन् ।
मिलियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) परियोजना सम्झौता आउँदो १३ भदौबाट लागुहुन गइरहेका बेला होलेन नेपाल आउन लागेका हुन् । उनी एमसिसी परियोजना लागु हुने आसपास नेपालम आउने कार्यतालिका छ । उनको भ्रमण तालिकामा अमेरिकी सहयोग परियोजनाको विषय पनि महत्वपूर्ण एजेन्डा छ ।
होलेनको सचिवालयले दिएको जानकारी अनुसार उनले नेपाल, श्रीलंका र मालदिभ्सको भ्रमण गर्नेछन् । उनले नेपाल भ्रमणका क्रममा प्रमुख सरकारी अधिकारीहरु, नागरिक समाज संगठनहरु, उद्योगका नेताहरु, गैरनाफामूलक संस्था, स्थानीय दूतावासका कर्मचारीहरु र प्रत्येक राष्ट्रमा काम गर्न अमेरिकहरुसँग भेटघाट र छलफल गर्ने कार्यतालिका छ । नेपालमा रहँदा होलेनले राजनीतिक दलका प्रमुखहरुलाई भेट्नेछन् ।
अमेरिकाको प्रभावकारी सेनेटर रहेका होलेनले नेपाल भ्रमणमा संयुक्त राज्य अमेरिकी सहयोग परियोजनाहरु र सांस्कृतिक महत्वका स्थलहरुको भ्रमण गर्नेछन् । नेपालमा एमसिसी परियोजना लागु हुने समय तालिकाको वरपर हुन लागेको होलेनको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
नेपालमा लामो समय एमसिसी परियोजना रोकिएको थियो । नेपालमा एमसिसी लागु गराउनका लागि एमसिसी उपाध्यक्ष फातिमा सुमारले पटकपटक नेपालमा भ्रमण गरेकी थिइन् । त्यसपछि दक्षिण तथा मध्य एसियाली मामिला सम्बन्धीत अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले १८ माघ २०७८ मा नेपालका राजनीतिक दलका नेताहरुलाई एमसिसी विषयमा प्रस्ट धारणा सार्वजनिक गर्न जोडबल गरेसँगै नेपालका राजनीतिह दलहरु एमसिसी परियोजना संसदबाट पास गर्न सहमत भएका थिए ।
अमेरिकी अनुदानसम्बन्धी यस सम्झौतामा हस्ताक्षर भएदेखि लागु हुने अवस्थासम्म आइपुग्न ६ वर्ष लागेको छ । अर्थ मन्त्रालय र एमसिसीबिच २९ भदै २०७४ मा भएको सम्झौता १५ फागुन २०७८ को संसद् बैठकबाट १२ बुँदे व्याख्यात्मक घोषणासहित अनुमोदन भएको थियो ।
नेपालमा एमसिसी परियोजना लागु हुन गइरहेका बेला मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले विरोध गर्ने जनाएको छ । नेपालमा अमेरिकी सहयोग परियोजना एमसिसी र चीनको परियोजना बिआरआई छन् । तर, मोहन वैद्य नेतृत्वको सो पार्टीले हालसम्म बेल्ट एन्ड इनिसिएटिभ (बिआरआई) परियोजनाको विषयमा भने हालसम्म विरोध गरेको छैन । सो परियोजना चीनले नेपालमा ऋण लगानीमा चलाउन लागेको हो । तर, मोहन वैद्य नेतृत्वसहितको कम्युनिस्ट घटकहरुले अमेरिकी सहयोग परियोजना एमसिसीको भने विरोध जनाइरहेका छन् ।
आजको राजधानी पत्रिकामा खबर छ ।