
काठमाडौं । पर्वतको दक्षिण भेगको हुवास नजिकै केमुनेबाट स्याङ्जाको वालिङ आउँदा हमुबहादुर (पेमे) नेपालीको भर्खर विवाह भएको थियो । २०१० सालमा केमुनेमा जन्मेका पेमेको आर्र्थिक अवस्था धेरै नाजुक भएपछि कामको खोजीमा वालिङ आएका थिए । मजदुरी गरेर मात्रै सहर बजारमा परिवारको जिविकोपार्जन गर्न निकै समस्या भएपछि उनले गाउँगाउँमा उत्पादन भएका स्थानीय उत्पादनका वस्तुलाइ खरिद गरि बजारमा बेच्न सुरु गरे ।
४२ वर्षदेखि सुपोमा स्थानीय उत्पादन राखेर बेच्न सुरु गरेका पेमेलाई बजारका सबैले राम्रोसँग चिन्थे । पेमेले बिक्रीका लागि राखेको सामग्री किनेर चिनेकाले सघाउँथे । वालिङस्थित मोडमा अदुवा, बेसार, खुर्सानी, अमिलो, कागती जस्ता स्थानीय उत्पादनलाई बेच्ने र संकलित रकमबाटै परिवार चलाउने उनको दिनचर्या जेनतेन चल्दै आएको थियो ।
वालिङको मुख्य चोक सडक छेउमा आफ्नो जिन्दगीको ऊर्जाशील ४२ वर्ष खर्चेका नेपाली गत साता सधैंका लागि अस्ताउन पुगे । अदुवा, बेसार, खुर्सानी, बेचेर साँझ अबेर वालिङ मोडमा नफर्कने गरि सधैंका लागि अस्ताए । जेनतेन परिवार चलाउँदै आएका पेमेको मृत्युपछि आर्थिक अवस्थाकै कारण उनका पविारले वालिङ नगरपालिका–८ स्थित खेलमैदानको सार्वजनिका शौचालयमा काजकिरिया गर्दै आएका छन् ।
५ छोरा २ छोरी जन्माएर नेपालीले श्रीमती पवि नेपालकै सहयोगमा छोराछोरी हुर्काउने, पढाउने र दैनिक गर्जो टार्दै आएका थिए । श्रीमानको किरिया बसेकी पवि भन्छिन्, स्थानीय राजेन्द्र गैरेको सहयोगमा अस्थायी रुपमा बस्दै आएको वालिङ मोड माथि एउटा छाप्रसमेत एक सहकारी संस्थाले भवन बनाउँदा भत्कायो । ‘छाप्रो भत्काएपछि न बास रह्यो न त किरिया बस्ने घर नै,’ उनले भनिन्, ‘किरिया गर्ने ठाउँ नभएपछि सार्वजनिक शौचालयको सहारा लिनुपरेको छ ।’
आजको राजधानी पत्रिकामा खबर छ ।