
काठमाडौं । जिल्लाकै नमुनाको रुपमा रहेको कपिलवस्तु नगरपालिका–२ स्थित रंगशाला केही महिनायता भने गौशालामा परिणत भएको छ । बुद्धपद्म उमाविको नाममा रहेको सो रंगशाला यति बेला गाईगोरु, घोडाागधालगायतका चैपायाको बासस्थानका रुपमा परिणत भएको हो ।
रंगशालाको तारबार र संरक्षण नहुँदा अहिले त्यँहा सयौँ छाडा चौपाया बस्ने र चर्ने गरेका छन् । लामो समय देखि प्रयोगविहीन अवस्थामा रहेको रंगशाला केही वर्षयता कपिलवस्तु महोत्सव गर्ने स्थल,गाडी सिक्ने ठाउँ, चौपाया बस्ने ठाउँका रुपमा परिणत भएको स्थानीय बताँउछन् । विद्यालय व्यवस्थापन सिमितिका अध्यक्ष अजाद अहमद दर्जीले बजेट अभावले तारबार र संरक्षण गर्न नसक्दा जिल्लाकै सम्पत्तिका रुपमा रहेको रंगशाला अहिले गैचरनमा परिणत भएको बताए । विद्यालयसँग संरक्षण र निमार्णको बजेट नहुँदा रंगशाला दयनीय अवस्थामा रहेको उनले बताए । रंगशालामा फुटबल, क्रिकेट, राष्ट्रपति रनिङ सिल्डलगायतका प्रतियोगितासमेत हुने गरे पनि यति बेला भने चौपाया चरनस्थल बनेको उनले बताए । ‘हामीले जिल्लाकाल १० वटै पालिकालाई रंगशालाको संरक्षण र निर्माणका लागि अपिल गर्दा पनि कसैले वास्ता राख्दैनन् ।’ उनले भने ।
सामान्य वर्षा हुँदासमेत पानी जमेर रंगशाला पोखरी जस्तो बन्ने गर्छ । अध्यक्ष दर्जीले रंगशाला जिल्लाकै नमुना भए पनि तीनै तहका सरकारले वास्ता नगर्दा दयंनीय अवस्थामा पुगेको बताए । उनले रंगशाला निर्माणका लागि आफुले विभिन्न सरकारी निकायमा प्रस्तावसमेत पेस गरेको बताए । उता मेयर सुदीप पौडेलले जिल्लाकै नमुनाका रुपमा रहेको रंगशाला चरनस्थल बनेकोमा आफुलाई समेत दुःख लागेको बताए । उनले छाडा चौपायाको बुद्धभूमिको गब्दाहवामा चाँडै व्यवस्थापन गराउने बताए । उनले रंगशाला निर्माणका लागि बजेट विनियोजन भएको र चालू आर्थिक वर्षदेखि नै काम सुरु हुने बताए ।
४ वर्ष अघि समेत रंगशाला निर्माणका लागि बजेट विनियोजन भई डिपिआर निर्माणको प्रक्रियासमेत अघि बढाइएको थियो । त्यहाँको स्वायल टेस्टसमेत गरिएको थियो । तर विद्यालय व्यवस्थापन समिति र नगरपालिकाबीचमा केही कुरामा विवाद हुँदा काम नै सुरु भएन । उता रगंशालाको दक्षिण तर्फ रहेको मञ्च त्यहाँको कोठासमेत जीर्ण भएका छन् । मञ्चका कोठा शौचालय बनेका छन् । त्यहाँ फोहर र दुर्गन्धले छिर्नसमेत नसकिने अवस्था रहेको खेलाडीहरु बताउँछन् ।
आजको नागरिक दैनिक पत्रिकामा खबर छ ।